लुम्बिनीमा सुआन चाङको मूर्ती राखिने

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौँ, २३ वैशाख । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवम् बौद्ध दर्शनसम्बन्धी दार्शनिक सुआन चाङको मुर्ति राखिने भएको छ । सुआन चाङ् चीनका ठूला बौद्ध भिक्षु हुनुहुन्थ्यो र उहाँ सयौँ वर्ष पहिले नेपालको लुम्बिनीमा पुगेर गौतम बुद्धको बारेमा अध्ययन गर्नुभएको थियो । उहाँले नै नेपालबाट फर्किएपछि चीनमा बौद्ध धर्मको प्रचार र विस्तार गर्नुभएको विश्वास गरिन्छ ।
चीनको हेनानमा सन् ६०२ मा जन्मिएका चाङ् चीनमा बौद्ध धर्मदर्शनका ठूला बिद्वान हुनुहुन्थ्यो । उहाँले बौद्ध धर्मदर्शनको अध्ययन र खोजका क्रममा नेपाल र भारतका विभिन्न क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
उहाँको यो योगदानको कदरस्वरुप नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर उहाँको मुर्ती स्थापना गरिने भएको जानकारी चीनको युनिभर्सिटी अफ सियानका प्राध्यापक डा.राजिव कुमार झाले दिनुभयो ।
नेपालले आगामी जेठ ८ गते परेको गौतम बुद्धको जन्म जयन्तीको अवसरलाई जेठ ६ देखि ८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका रुपमा मनाउने तयारी गरिरहेको छ ।
उहाँले भन्नुभयो– यस विषयमा प्रधानममन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निर्णय भइसकेको छ र उक्त मुर्तीको स्थानाका लागि चीन सरकारका तर्फबाट पनि उच्च पदस्थ अधिकारीको सहभागिता हुनसक्ने छ ।
चिनियाँ सहर सियान र नेपालको काठमाडौं भगिनी सहर (सिस्टर सिटी) हुन् र प्रा डा. झा उक्त सहरका सद्भावना दूत पनि हुनुहुन्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उहाँलाई दूतमा नियुक्त गरिएको थियो ।
उक्त बौद्ध सम्मेलनमा चीनको सान्सी प्रान्तका उप गभर्नर यायो यिङ्लियान नेपाल जाने र सोही अवसरमा लुम्बिनीमा सुआन चाङको मुर्ती स्थापना गरिने कार्यक्रम तय भएको जानकारी डा. झाले दिनुभयो ।
यस सम्मेलनमा चीनबाट बौद्ध भिक्षु, बौद्धधर्म र दर्शनक विशिष्ठ व्यक्तित्व र सरकारबाट पनि उच्चस्तरीय प्रतिनिधित्वका लागि डा झाले सान्सी प्रान्तका साथै सियान नगर र अन्य छिमेकी प्रान्तमा स्थानीय पत्रपत्रिकामार्फत प्रतार प्रसार गर्नुभएको छ ।
उहाँले भन्नुभयो– चीन सरकारका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने भएको छ तर अहिले नै नाम सार्वजनिक गर्न भने मिल्दैन ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु