बिस्केट जात्रा सुरु

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौँ, २७ चैत । भक्तपुरमा बिस्केट जात्रा सुरु भएको छ । ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकाल देखि चल्दै आएको बिस्केट जात्रा
आज बिहानै गणेश कर्माचार्यबाट भैरबनाथको पूजागरी सुरु भएको छ । विभिन्न चरणको पूजा सकेर दिउँसो भैरब र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथमा तलेजुका पूजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिन्छ ।
नयाँवर्षको चार दिन अगाडिदेखि सुरु हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन शनिबार भैरवको रथ तानेर जात्रा मनाउने गरिन्छ । जात्रा अवधीभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिविल प्रहरी गरी दुई हजार प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए । रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसि क्यामरा जडान गरिएको छ ।
विक्रम संवत् अनुसार सौरमासको आधारमा लिच्छवीकाल भन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु