२०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने

२०७२ चैत्र २६ गते, शुक्रबार

काठमाडौ, २६ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने भएको छ । मन्त्रालयले बाह्य पर्यटक लक्षित कार्यक्रम मात्रै सञ्चालन भइरहेका बेला आन्तरिक पर्यटक लक्षित कार्यक्रम गर्ने तयारी गरेको हो । नेपाल पर्यटन बोर्डको समन्वय र निजी क्षेत्रको सहभागितामा २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने तयारी भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।
वैशाख १२ गतेको भूकम्प र भारतीय नाकावन्दीले पर्यटन उद्योग शिथिल बनेको भन्दै पर्यटन क्षेत्रको गतिविधि बढाउन २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने गृहकार्य भएको उनको भनाई छ । प्रवक्ता उपाध्यायका अनुसार काठमाडौं बाहेकका पोखरा, चितवन, लुम्बिनी, बन्दिपुर, दोलखा, बर्दिया, इलाम, कोशि टप्पु लगायतका पर्यटकीय क्षेत्रलाई मुख्य लक्षित गरी कार्यक्रम गर्ने तयारी भइरहेको छ । आन्तरिक पर्यटक बढाउन निश्चित ठाउँका लागि सेवा सुविधा तथा छुटको व्यवस्था गरिनेछ ।
यस्तै घुम्न प्रेरित गर्ने खालका प्रचारात्मक कार्यक्रम पनि गर्ने तयारी छ । दसैं तिहारलगायत मुख्य बिदामा छुट्टी मनाउनका लागि विशेष प्याकेजसहितको अभियान थालिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु