आजदेखि पेट्रोलको लाइन हट्छ : निगम

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौं, १९ चैत । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन आइओसीबाट पर्याप्त मात्रामा पेट्रोल आयात भइरहेकाले लाइनमा नबस्न आग्रह गरेको छ । आजदेखि पेट्रोलको लाइन हट्ने पनि निगमको दाबी छ । आइओसीबाट आयात रोकिने भन्ने हल्लामा धेरैले पेट्रोल संचय गर्न थालेको भन्दे निगमले त्यसो नगर्न पनि अनुरोध गरेको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार आईओसीबाट आयात रोकिने वा घट्ने कुनै सम्भावना छैन । बरु आईओसीले माग आनुसारको तेल भर्नका लागि ट्याङकर पठाउन आग्रह गरेको छ । आईओसीले जति मागे पनि तेल भरिदिने बताएकाले बजारमा अभाव नहुने उनको दाबी छ ।
गएको हप्तामा होलीका कारण आयात केही कटौती भए पनि अहिले कुनै समस्या नहरेको प्रवक्ता घिमिरेले बताए । यस्तै एक दुई दिन अघि पेट्रोल पम्पलाई मागे जति वितरण गर्न नसके पनि आजदेखि माग अनुसारकै परिमाणमा विक्रि गर्ने निगमले जनाएको छ ।
पेट्रोलको आयात र वितरण सहज भए पनि डिजेलका लागि भने केही समय लाग्ने निगमको भनाई छ । लोडसेडिङ, उद्योग कलकारखाना लगायत सञ्चालनमा आएकाले डिजेलको माग धेरै हुँदा सामान्य अवस्थामा आउन समय लाग्ने भएको हो ।

प्रतिक्रियाहरु