निर्माण व्यवसायी महासङ्घको केन्द्रीय साधारणसभा हुदै

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौ, १७ चैत । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् । दुईदिने केन्द्रीय साधारणसभाका लागि व्यवसायीहरु हिजो नै आइपुगेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए । सोमबार आएको हावाहुरीले टेन्ट पूरै उडाएको भएपनि पुनर्निर्माण गरिएको उनले जानकारी दिए । दुई दिन चल्ने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।
महासङ्घको १८औँ साधारणसभासँगै सोही अवसरमा रजत जयन्ती शुभारम्भसहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले बताए । अहिले रत्ननगरका विभिन्न क्षेत्र व्यवसायीले सिङ्गारेका छन् । साधारणसभा चितवन घोषणापत्र जारी गर्दै १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी सङ्घ चितवनका द्वितीय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु