पाँच रुपैयाँ कप चिया ?

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला ? रु १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ । पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि बढाउनुभएको छैन । ६५ रुपैयाँ लिटरको दुग्ध, ७० रुपैयाँ किलो चिनी र इन्धनको अभावमा समेत उहाँले पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ ।
करिब तीन दशकसम्म खेती गर्दा पनि आर्थिक लाभ नभएपछि सञ्जेलले करिब १० वर्षअघि विराटचोकमा चिया पसल थाल्नुभएको थियो । पाँच रुपैया कप बजारको मूल्य हँुदा उहाँले एक रुपैयाँ कप चिया बेच्न थाल्नुभएको थियो । ५० वर्षीय सञ्जेलको चिया पसलबाहेक अरू कुनै व्यवसाय छैन । सो चिया पसल गरेरै सञ्जेलले विराटचोकमा रु १० लाखमा घडेरी किन्नुभएको छ । त्यति मात्र होइन उहाँले चिया पसलबाटै भएको आम्दानीले दुईवटी छोरीको विवाह गरेको सुनाउनुहुन्छ । लीलाप्रसाद सङ्खुवासभा जिल्लाको आँखीभुइँबाट २०३३ सालमा तराई झर्नुभएकोे थियो । – रासस

प्रतिक्रियाहरु