पेट्रोलियम पदार्थ भण्डारणमा चीनले सघाउने

२०७२ फाल्गुन १९ गते, बुधबार

काठमाडौं, १९ फागुन | चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ । अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।
चीनले नेपाललाई ३ महिलासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारी थालेको हो । यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ । कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ । नेपालको अहिलेको भण्डारण क्षमता धेरै कम छ । पेट्रोल ५ दिन र डिजेल १५ दिनका लागि मात्र पुग्ने भण्डारण क्षमता रहेको छ ।
अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता ७१ हजार १९८ किलोलिटर क्षमता छ । काठमाडौंमा मात्र दैनिक ३५० किलोलिटर पेट्रोल र ४५० किलोलिटर डिजल खपत हुन्छ । – कारोबार दैनिकवाट

प्रतिक्रियाहरु