अर्को हप्तावाट लोडसेडिङ घट्ने

२०७२ फाल्गुन १७ गते, सोमबार

काठमाडौं, १७ फागुन । नेपाल विद्युत प्राधिकरणले अर्को हप्तावाट लोडसेडिङको अवधि घटाउने तयारी भइरहेको जनाएको छ । अहिले अघोषित रुपमा भइरहेको डेढ, दुई घण्टा लोडसेडिङ हटाएको प्राधिकरणले अब नयाँ तालिका निकाल्ने तयारी गरेको हो । अबको एक हप्तापछि लोडसेडिङ केही घट्ने प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश काफ्लेले बताए । उनका अनुसार नदीमा जलस्तरको अवस्थाका बारेमा अहिले अनुगमन भइरहेको छ । जलस्तर बढेका नदीबाट उत्पादन बढाउने र जलस्तर घटेका ठाउँमा उत्पादन कम गरी पानीको सतह बढाउने काम भइरहेको उनले बताए । भारतबाट आयात गरिएको थप ८० मेगावाट बिजुली अहिले हेटौंडादेखि पूर्वी क्षेत्रमा मात्रै वितरण भइरहेको छ ।
त्यसलाई अरु क्षेत्रमा पुर्‍याउने तयारी भएकाले लोडसेडिङ केही घण्टा घट्ने सम्भावना रहेको प्रबन्ध निर्देशक काफ्लेले बताए । उनका अनुसार अहिले प्राविधिक समस्याका कारण भारतको मुजफ्पुर–ढल्केबरबाट ल्याइएको ८० मेगावाट बिजुली सबै ठाउँमा पुर्‍याउन सकिएको छैन । प्राविधिक समस्याबारे भारतीय पक्षसँग पनि छलफल भइरहेकाले छिटै समाधान हुने उनको भनाई छ । प्राधिकरणले अहिले दैनिक हुँदै आएको १३ घण्टाको लोडसेडिङ केही घटाउन लागेको हो ।

प्रतिक्रियाहरु