सन्दर्भ ‘भ्यालेन्टाईन डे ‘ – सन्तोस चिमरिया

२०७२ फाल्गुन २ गते, आईतवार

यो भ्यालेन्टाईन डे भन्ने प्रेम दिवस आयो कि मलाई मेरो हुर्मतको बार्षिकी आए जस्तो लाग्छ । बिडम्बनाको कुरो के भने मानिसहरूका प्रेम रोमान्चक, सुखद र कसै कसैका त दिल गार्डेन गार्डेन हुने खालका हुन्छन् । तिनलाई प्रणय दिवस विशेष हुँदो हो । कसैका वियोगान्तक हुन्छन् । तिनका लागि पनि यो दिवसको आफ्नै महत्व हुनसक्छ । तिनले पनि कम्तिमा आजको दिन आफ्ना र आफ्नी भुपुहरुलाई याद गर्ने नै छ्न । तर हास्यास्पद र हुर्मतमा टुङिएको मेरो प्रेमकथा भने कुनै कमेडी प्रहसन जस्तो छ । तैपनि जमना प्रतिस्पर्धाको छ । यता अरबमा हिउँ पर्दैन । यसैपनि अस्ति हिंउदमा हिउँमा खेलेको सेल्फी टास्न नपाएर पछि परिएको छ । अब प्रेम दिवसको उपलक्ष्यमा पनि प्रेममय दुईचार शब्द कोरिएन भने लाईफमा गर्लफ्रेन्ड नै नभएको कलंक लाग्ला भन्ने पिरले पनि आफ्नो कथा भन्न अघि सरेको छु ।
प्रेमकथा रंगेली टाँकीज नामको सिनेमा घरबाट सुरु हुन्छ । सुरु कसरी हुन्छ भने रंगेली गएर एउटा हिन्दी फिल्म हेरेपछि यो लभ भन्ने कुरा नगरी नहुने रहेछ भन्ने मैले ठानेपछि हुन्छ । यसरि ठानिरहदा मैले, मेरो उमेर ,अबस्था र योग्यता सबै भुलेको कुरा सत्य हो । तर प्रेम र युद्धमा सबैथोक जायज हुन्छ भन्ने कुरा पनि त उति नै सत्य हो भन्ने मलाई त्यो बेला लाग्यो । त्यसैले मै दुनिया भुला दुङा तेरी चाहतमे भन्ने त्यो फिल्मी गित मात्र याद रह्यो । बाकी मैले सबै भुले । त्यही भुल्नुको परिणामस्वरूप मेरो प्रेमकथा कमेडी जस्तो भयो ।
स्कुलका ति अन्तिम बर्षहरू थिए । एउटी चस्मी थिइ मसगैं पढने जो मलाइ मन पर्यो । आज मलाइ त्यसको चस्मा बाहेक अनुहार खासै केहि याद नभए पनि केही कुराहरू कहिले पनि भुल्न नसक्ने गरि गडेका छन । ती के भने , त्यो प्रायः आफ्ना साथीहरूसगं जतीखेरै खास-खुस, खास-खुस गरिरहन्थी । अनि बिच बिचमा हातले मुख छोपेर खितित्त खितित्त हाँस्थी । मोरी कस्ती डल्ली थिइ भने बेन्चमा बस्दा भुइमा खूट्टा पुग्दैनथे । खुट्टा हावामा हुन्थे ।त्यसका BEST FRIENDS महिना महिना दिनमा फेरिन्थे र कक्षाका आधा भन्दा धेरै केटीहरूसगं त्यसले मित लगाइसकेकी थिइ । अनि कक्षा भरिका बिधार्थीलाइ अटो भराउथी । मलाइ पनि दिएकी थिइ । आफ्नो अटोका सुरूका पानाहरूमा त्यसले भयानक साहित्यमा लेखेकी थिइ । जीन्दगी एउटा यात्रा हो ,दोबाटोमा छुट्टीनु पर्छ,चैातारामा फेरी भेट हुन्छ । साथी टाढा भएपनि यादमा बाँचेको हून्छ आदि इत्यादि । अनि कतै गुलाबको फुल बनाएकी थिइ , कतै पानको पातको आकारमा मुटुको चित्र बनाएर त्यसमाथी तिरले छेडेको जस्तो देखाएकी थिइ र तल पट्टि घायल दिल ! लेखेकी थिइ । बडो गजबले अटो सजाएको थिइ चस्मिले । अझ त्यसले नपुगेर जताततै जीबन र प्रेम सम्बन्धि महान महान खालका भनाइ र सायरीहरू हालेकि थिइ ।
मलाइ लाग्यो प्रेम गर्न यो भन्दा उपयूक्त केटी यो स्कुलमा त के यो संसारमै छैनन । अनि त्यसमाथी म दिलवाले भन्ने हिन्दि फिल्म बाको पैसा चोरेर र स्कुलबाट भागेर भएपनी हेर्न भ्याएको मान्छे ! अनि त के चाहियो , प्यारकी कागज पे दिलकी कलम से पहेलिबार……….
एउटा प्रेमपत्र धस्काए मेरो पालो त्यस चस्मीको नाममा ।
मैले के लेखे भन्ने कुरा अहिले मलाइ सम्झना छैन । तर जाहाँ सम्म मैले बडो बतासे टाइपको प्रेमपत्र लेखेको हुनुपर्छ । तिमीलाइ आकाशको जुनतारा झार्दिन्छू , तिम्रो सिउदो आफ्नो रगतले सजाउने छु , भन्ने टाइपको ! उसको सुन्दरतालाइ मैले उडन्ते उडन्ते उपमा दिएको हुनुपर्छ । तिम्रो रेशम जस्तो कपाल ! मृगका जस्ता आंखा ! पुर्णिमाको जुन जस्तो तिम्रो अनुहार !आदि इत्यादि । अनि मुना मदन ,रोमियो जुलियट,लैला मज्नुको उदाहरण दिएर हाम्रो प्रेमको अमरत्वको ग्यारेन्टि गरिन होला भन्ने पनि मलाइ लाग्दैन । अन्तिममा सात जन्म साथ दिने बाचा झन छुट्ने कुरै होइन । यसरी धेरै मेहनतले मैले त्यो चिठी तयार पारेको थिए । एकै रातमा साकुन्तल लेख्न महाकबीलाई त्यस्तो गार्‍हो परेको थिएन होला । तर त्यो पहिलो प्रेमको पहिलो पत्र उचित उचित शब्द र भाबनाले कोरेर सम्पन्न मलाई सारै गार्‍हो भएको थियो ।
तर चिठ्ठि लेखिसकेपछि एउटा समस्या आइलाग्यो । चिठ्ठि दिने कसरी ? भेटेर दिउ त्यत्रो हिम्मत मसगं छैन । कसैलाइ हुलाकी बनाउ कुरो चुहिएला भन्ने पिर !अनि मेरो पालो चिठ्ठि खुसुक्क मोरीको किताबमा हाल्दिए । पढनमा त्यो डल्ली साढे बाईस थिइ । एकचोटी कक्षामा चौपायका खुट्टा कतिवटा हून्छन भनेर सरले सोध्दा २ वटा हुन्छन भनेर सारा कक्षा हंसाएकी थिइ । त्यस्तीले कताको किताब पल्टाउनु र मेरो चिठ्ठि भेट्नु ! चिठ्ठि त कसो कसो गर्दा उसको बाउले पो भेटेछ गाठ्ठे ! जुँगे भंडारीका हातमा उसैकी छोरीलाइ लेखेको मरो प्रेमपत्र !! भएन अब बर्बाद ?
अनि त्यसपछि जे जे भयो त्यो आज मलाइ सम्झदा मुर्छा परिन्जेल हाँस उठछ । जुंगे भण्डारीले त चिठ्ठि त हाम्रा बालाई पो , ल तपाइको छोरा ठुला भएछ भन्दै दिएछन ! बाले त उस्तो केही गर्नु भएन । जम्मा एकपटक भाले भएर धेरै नहिड तेरा पखेटा फुकाली माग्लास भनेर दच्काउनु मात्रै भयो । तर कसोकसो खुस्कीएर व्यापक भएछ । अहिलेका गोठाले सम्पादकले चलाएका अन्लाईन पत्रीकाको समाचारको बिषय जस्तो मेरो प्रेमपत्रको हौवा गाउँ देखि स्कुल सम्मै फैलिएर हुनसम्म भयो । त्यसपछि मेरो हुर्मतका दिन सुरू भए । घरमा भाईबैनीहरुले सम्म मलाई छोडेनन । सबैले मलाइ दिवानाको शाहारूक खान भनेर पो जिस्क्याउन थाले । बिस्तारै मेरो नाम त दिवाना पो भयो । साथीभाइ, छरछिमेक , गाँउटोल देखि स्कुल सम्म म दिवानाको नामले पो पुकारीन थाले ! हुदा हुदा स्कुलमा मास्टर पनि ल दिवानाजी ! फलानो प्रश्नको उत्तर के हो भनेर भन्न थाले । हे दशा कुन दिनमा लेखेछु यो डल्लीलाई मैले प्रमपत्र !
त्यसपछि चै मलाइ त्यो चस्मी देखि सारै रिस उठ्यो। त्यसको चस्मा फुटाएर आँखा निकाल्नु जस्तो रिस ! त्यसलाई दुई महिना पछि आउने नयाँबर्षमा दिउला भनेर मवलमा श्राद हुँदा दिएको रु १ हालेर एउटा दिब्या भारती भन्ने हिरोनिको फोटो भएको पोष्टकार्ड किनेको थिए ,मेरो पालो च्यातेर फ्याकि दिए ।
त्यसयता यी झन्डै दुई दशकमा मैले कसैलाइ चिठ्ठि लेखेको छैन । अथवा भनौं लेख्ने हिम्मत गरेको छैन । न कसैलाइ मन पराउने हिम्मत फेरि जुटाउन सकियो । न लपै पारियो। झन चस्मा लगाएका होची होची केटि देख्यो कि मेरो भालेसातो नै जान्थ्यो ।
त्यसको अर्को दशक पछि झ्याम्मसंग बाउले खोज्देकी केटीसंग बिहा गरियो । लब म्यारिज नै नभए पनि म्यारिज पछि लब पर्न सुरु भयो । प्रणय दिबसलाई लिएर कसैका रोमान्चक, वियोगान्तक,संयोगान्तक र गार्डेन गार्डेन टाईपका अनुभुतीहरु होलान । मेरो चाहिँ पहिलो प्रेम हास्यास्पद रहयो । कोइ बात छैन, जीन्दगीमा बिहा पछि श्रीमतीसंग लब , रोमान्स र डेटिङ गर्नुको पनि आफ्नै मजा रहेछ । खेतमा बुढी खाजा लिएर आउछे उतै एकछिन डेटिङ हुन्छ । कहिलेकाही लुगा धुँदा ढाड दुख्यो सक्दिन लुगा मिच्दे भन्छे उतै कानेखुसी रोमान्स हुन्छ । छोराको बिहा पछि नाति/ नातिना माग्दै बा- आमा चार धाम जानुभयो । त्यही मौकामा औपचारिक खालको हनिमुन भन्छन नि आजकल , त्यो पनि निज निवासमै सम्पन्न गरियो ।
त्यसैले एउटा प्रणय दिवसको भवितव्यलाई भुलेर प्रणय दिवसलाई सम्झनु पर्ने र यसकोको विशेष शुभकामना दिनुपर्ने आफैले अग्निसाक्षी राखी सात फन्को घुमेर भित्र्याएकी आफ्नै जिबनसाथी हो । त्यसैले कोहि भन्दा पछि नपर्न र अरुलाई उछिन्दै आजै एड्भान्समा तिमीलाई प्रणय दिवसको शुभकामना । आई मीन हेप्पी भ्यालेन्टाईन डे । आई लभ यु !

प्रतिक्रियाहरु