पाल्पा दरबार सङ्ग्रहालयको कार्यालय स्थापना

२०७२ माघ १४ गते, बिहीबार

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा दरबारमा ‘पाल्पा दरबार सङ्ग्रहालय’को कार्यालय स्थापना भएको छ । राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ को माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । आक्रमणअगाडि दरबारमा प्रशासनिक कार्यालयहरु रहेका थिए ।
विसं २०६४ असार ३१ देखि दरबारको पुनःनिर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण सम्पन्न भएपनि सङ्ग्रहालय स्थापना गर्नुपर्छ भनेर स्थानीयले सरकारसँग माग गर्दा दरबार केही समय प्रयोगविहीन बनेको थियो । सरकारले भने अन्य कार्यालय राख्न खोजेको थियो ।
दरबार जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंहले बिसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले विसं १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ ।
पाल्पा दरबारको भूइँतलामा १३ कोठा एक शौचालय, दुई झ्याल, पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र २ शौचालय रहेका छन् । सो दरबार निर्माण कार्य सम्पन्न भएपछि लामो समय प्रयोगविहीन भएर बन्द अवस्थामा नै रहेको थियो । माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो ।
सङ्ग्रहालयको कार्यालय मात्र स्थापना भएको हो, सङ्ग्रहालय नै स्थापना भएको होइन तर मानिस सङ्ग्रहालय नै स्थापना भयो भनेर दरबारक्षेत्र अवलोकन गर्नेहरुको चाप बढेको उहाँको बुझाइ छ । केही विदेशीसहित स्वदेशी पर्यटक दरबार अवलोकन गर्न दैनिक आएको खनाल बताउनुहुन्छ ।
‘पाल्पा दरबार सङ्ग्रहालय’ बहुउद्देश्यीय सङ्ग्रहालय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदा सङ्ग्रहालयमा रहनेछन् । विशेष गरी सङ्ग्रहालयमा पाल्पाको संक्षिप्त इतिहासको विवरण, ऐतिहासिक विवरणसहितको रिब्दी दरबारको फोटो, नक्सा, मणी मुकुन्दसेनको समयमा विस्तृत पाल्पा राज्यको नक्सासहितको फोटो र सेनकालीन सांस्कृतिक सम्पदा रहनेछ ।
त्यसैगरी, भौतिक सम्पदाहरु भाँडावर्तन, शिलापत्र, ताम्रपत्र, बाद्यवादन, विभिन्न लिखित कागजपत्र, परम्परागत रुपमा चलिआएका पाल्पा र यस क्षेत्रका जात्रा, मेला, पर्व, नाच आदिको श्रव्यदृश्यले सङ्ग्रहालयलाई आकर्षक बनाउन सहयोग पुग्नेछ ।
सङ्ग्रहालयमा जातीय संस्कृतिको पनि झल्को भेटाउन सकिनेछ । मगरजातिको वेशभूषासहित परम्परागत कलाकौशल, पाल्पाली करुवा, ढाका बुन्ने तान्न, माटोका भाँडाका बस्तु र प्राकृतिक दृश्यका तश्बीरसमेत रहने प्रमुख खनालले बताउनुभयो । राप्ती र लुम्बिनी अञ्चलभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिपूर्ण तस्बिर, नक्सासमेत रहनेछन् । सङ्ग्रहालयको पहिलोचरणमा सरकारी कार्यालय तथा गुठी संस्थानका सम्पत्ति खोजी गर्ने, पहिचान नभएका बस्तुको खोजीनीति गर्ने र व्यक्तिसँग रहेको ऐतिहासिक वस्तु सङ्ग्रहालयमा राख्न अनुरोध गरिने प्रमुख खनालले बताउनुभयो ।
पुरातत्व विभागले सम्पदाको सङ्ग्रहालयमा सङ्ग्रह गर्ने स्वीकृित दिएपछि दरबारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा रहनेछन् । हाल सङ्ग्रहालयमा शाखा अधिकृत कार्यालय प्रमुख र कार्यालय सहयोगी रहेका छन् । सरकारले सङ्ग्रहालय सञ्चालनका लागि सातजनाको दरबन्दी व्यवस्था गरेको छ । सङ्ग्रहालयको कार्यालय स्थापना भए पनि सरसफाइमा ध्यान भने पुग्न सकेको छैन । – कृष्ण दर्नाल/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु