स्वास्थानी ब्रत सुरु हुदै

२०७२ माघ ९ गते, शनिबार

काठमाडौं, ९ माघ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु हुँदैछ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूणिर्माको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । प्रर्येक घर घरमा स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने तथा प्रसाद र नैवेद्य ग्रहण गर्ने गरिन्छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूणिर्माका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि छ । सय रोटी आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्मको समय राम्रो मानिन्छ ।
यस अवसरमा आजदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु