रंगेलीमा कर्फ्यु हटयो

२०७२ माघ ८ गते, शुक्रबार

काठमाडौं , ८ माघ । हिजो प्रहरीको गोली लागेर दुई महिलासहित तीन जनाको मृत्यु भएपछि मोरङको रंगेलीमा लगाइएको कर्फ्यु आज बिहानबाट हटाइएको छ । स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा त्यसलाई विथोल्न गएका मोर्चा कार्यकतालाई रोक्ने क्रममा हिजो झडप भएपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा रंगेली ४ घर भएकी ५८ वर्षीया द्रौपदीदेवी चौधरी, स्थानीय शिवु माझी र बरडंगा २ का ऋषिदेव रहेका छन् ।
रंगेलीको नेपाल बैंक अगाडि युवा संघले कार्यक्रम गरिहेको बेला अपरान्ह ३ बजेतिर मधेसी मोर्चाका कार्यकर्ताहरु लाठी र भाटासहित कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड निकै बढेपछि प्रहरीले नियन्त्रण गर्न ५० राउण्ड गोली चलाएको थियो । थप हिंसात्मक घटना हुन नदिन स्थानीय प्रशासनले साँझदेखि रंगेली क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
युवा संघले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले बुधबारदेखि नै कार्यक्रम बिथोल्ने घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु