कार्कीको कदमले एमाले र एमाओवादीमा रुवाबासी

२०७२ मंसिर २७ गते, आईतवार

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पछिल्लो कदमले एमाले र एमाओवादीमा रुवाबासी चलाएको छ । एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व मन्त्री राजेन्द्र पाण्डे लगायतका ६ नेता र एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, सभासद् रविन्द्रप्रताप शाह र ल्ह्यारक्याल लामा लगायतका नेता तथा केही बहालवाला सचिवसहित २९ जना भीआइपीलाई बयानका लागि अख्तियारले पत्र काटेपछि एमाले र माओवादी भित्र यस्तो रुवाबासी चलेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्र काटेका २९ व्यक्तिमध्ये ९ जना नेकपा एमाले सम्बद्ध रहेका छन् । एमालेको केन्द्रीय स्तरका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे र डा. बंशीधर मिश्रबाहेक टेकबहादुर थापा पूर्वमन्त्री, समानुपातिक कोटाबाट सांसद बनेका इच्छाराज तामाङ र राजकुमार अग्रवाल तथा निर्वाचित सांसदहरू जनार्दन ढकाल एवं पूर्वसांसद विजय पौडेलले एमालेसम्बद्ध नेता–कार्यकर्ता हुन् ।
त्यस्तै नेपाली काँग्रेसनिकट मानिएका पूर्वमन्त्रीहरू शंकरप्रसाद कोइराला, विद्याधर मल्लिक, छविराज पन्त र उमाकान्त झा तथा समानुपातिक सांसद उमेश भट्ट, अख्तियारको अनुसन्धानको दायरामा आएका छन् । एमाओवादी नेता कृष्णबहादुर महरा, पूर्वमन्त्री रामकुमार श्रेष्ठ, ल्ह्यारक्याल लामा र समानुपातिक सांसद तथा पूर्व आइजिपी रविन्द्रप्रताप शाह पनि अख्तियारको पत्र पाउनेमा परेका छन् ।
राप्रपानिकटका विक्रम पाण्डे, माले नेतृ एवं पूर्वमन्त्री नीलम केसी (सीता खड्का), फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सभासद बनेका बाबुराम पोखरेल र गीता राणा पनि अनुसन्धानको दायरामा तानिएका छन् । सचिवहरू शान्तबहादुर श्रेष्ठ, उत्तमकुमार भट्टराई र अनुपकुमार उपाध्याय, पूर्वमुख्यसचिव भोजराज घिमिरे, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, एआईजीपी राजेन्द्रसिंह भण्डारी तथा डिआईजीपी विजयलाल कायस्थ पनि अख्तियारमा उपस्थित भएर बयान दिनुपर्नेमा परेका छन् । यसरी अनुसन्धानको दायरामा ल्याइकामध्ये पार्टी नेताहरूलाई मोटो रकम बुझाएर सांसद हुनेको संख्या ६ जना रहेको छ । काँग्रेससम्बद्ध उमेश श्रेष्ठ, एमालेसम्बद्ध इच्छाराज तामाङ र राजकुमार अग्रवाल, एमाओवादीसम्बद्ध रविन्द्रप्रताव शाह तथा फोरम लोकतान्त्रिकसम्बद्ध गीता राणा र बाबुराम पोखरेल पार्टी नेतालाई मोटो रकम बुझाएर सांसद बन्ने व्यक्तिका रूपमा परिचित छन् ।
यसरी आफ्ना शीर्षस्थ नेताहरू नै अख्तियारको फन्दामा पर्न लागे पछि सत्ताधारी दल नेकपा एमाले र एमाओवादीे अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउन दिलो ज्यान दिएर लागेका छन् । उनीहरूले अख्तियार प्रमुख लोकमानसिंह कार्की हटाउनका लागि आ–आफ्नो पार्टीको आन्तरिक पंक्तिमा छलफल तीब्र पारेका छन् । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका दोस्रा तहका प्रभावकारी नेताहरूसँग छलफल अघि बढाएका छन् । नेकपा एमालेका झण्डै आधा दर्जन उच्च नेताहरू र एमाओवादीका महासचिव कृष्णबहादुर महरा, सभासद् रविन्द्रप्रताप शाह र लामा लगायत ४ नेताविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको आरोपमा बयानका लागि अख्तियार बोलाएपछि एमाओवादी–एमालेका शीर्ष नेताहरू कार्कीसँग रुस्ट भएका हुन् । हिजो कार्कीको नियुक्तिका बेला आपूmहरूको मौन समर्थन रहे पनि अहिले कार्कीले भारतीय उक्साहटमा आएर आफ्ना नेताहरूलाई बद्नाम गरेको भन्दै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना निकटस्थ नेताहरूलाई कार्की हटाउने तयारीका लागी नेपाली काँग्रेससँग छलफल अघि बढाउन भनिसकेको खबर छ । कार्कीलाई हटाउनका लागि सत्ता पक्षबाट मात्रै सम्भव छैन । उनलाई संसद्को दुई तिहाइले महाअभियोग नलगाईकन हटाउन असम्भव छ । दुई तिहाईका लागि नेपाली काँग्रेसको समर्थन चाहिन्छ । उतिबेला कार्कीलाई नियुक्त गर्दा एमालेका नेता माधव नेपाल र एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले विरोध मात्रै गरेका थिएनन्, नियुक्तिको विरोधमा हस्ताक्षर अभियान चलाइरहेका युवा नेताहरूको अगुवाई समेत गरेका थिए । प्रचण्ड र ओली अहिले ती नेताहरूको समेत चर्काे दबाबमा परेपछि हटाउने तयारीका लागि काँग्रेसको साथ लिने तयारीमा रहेको सम्बद्ध पार्टीका नेताहरूले बताएका छन् ।
एमालेका नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल, एमाओवादीका नेताहरू नरायणकाजी श्रेष्ठलगायतका नेताहरू दुई तिहाई पु¥याउनका लागि गृहकार्यमा जुटेको एमालेका एक नेताले बताए । एमालेले चितवन भेला र एमाओवादीले केन्द्रिय समितिको बैठकबाट अख्तियारको काम पूर्वाग्रहका आधारमा भएको भन्दै विरोध गरिसकेका छन् । तर, अख्तियारले पछिल्लो समय काटेको पत्रमा काँग्रेसका कोही उच्च नेता छैनन् । दुई तिहाई पुग्न नदिन कार्कीले चलख्याइपूर्णरूपमा काँग्रेसलाई नछोएको तर दोस्रो चरणमा काँग्रेसको समेत पालो आउने भन्दै काँग्रेसका केही युवा नेताहरू एमाले र एमाओवादीको कदममा साथ दिनुपर्ने बताउन थालिसकेको र काँग्रेसका शीर्ष नेताहरूसँग छलफल चलाइरहेको समेत ती नेताले बताए ।

प्रतिक्रियाहरु