एन्ट्यागका भ्रष्टलाई सबैको साथ

२०७२ मंसिर २६ गते, शनिबार

काठमाडौँ । युएसएआइडीअन्तर्गतको सुआहारा आयोजनाको आर्थिक सहयोगबाट बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धमा काम गर्दै आएको नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा चरम् आर्थिक अनियमितता भएको समाचार यसअघि दर्जनौँ पत्रपत्रिका र अनलाइनमा दर्जनौँ पटक सार्वजनिक भइसकेका छन् । एन्ट्यागका कर्मचारीहरूसमेतले संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्यो भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पटक–पटक निवेदन दर्ता गराएको तथ्यसहित सार्वजनिक भइसकेको विषय हो । सम्बन्धित कुनै निकायबाट एन्ट्यागमा भएको ब्रह्मलुटको छानबिन नभएपछि त्यहाँ कार्यरत कर्मचारीले २०७२ साउन ६ गते दर्ता नं. २९८ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराए । उनीहरूले एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीले १६ वटा मोटरसाइकल, ४० वटा ल्यापटप, दुईवटा गाडी, भवन भाडा, सवारी साधन मर्मत, मसलन्द खरिदजस्ता दर्जनौँ विषयलगायत विभिन्न जिल्लामा कार्यक्रम नै नगरी कार्यक्रम सम्पन्न भएको भन्दै फर्जी बिल बनाई भुक्तानी लिएर लाखौँ रूपैयाँ अपचलन गरेकोले तत्काल छानबिन गरी कारवाही गर्न माग गरी उजुरी दर्ता गराएको प्रमाण यसअघि नै सार्वजनिक भइसकेको छ ।

उता एन्ट्यागमा भ्रष्टाचार भएको समाचार व्यापकरूपमा सार्वजनिक हुन थालेपछि यथार्थता बुझ्न पुगेका पत्रकार बालकृष्ण भट्टलगायतको पत्रकारको टोलीलाई कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीले सूचना नदिई दुव्र्यवहार गरी फर्काएपछि पत्रकार बालकृष्ण भट्टले यथार्थ र सम्पूर्ण सूचना उपब्ध गराइदिन राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराए । राष्ट्रिय सूचना आयोगले पनि २०७२ असोज १४ गते च. नं. २०१ को पत्र काट्दै सात दिनभित्र यथार्थता आयोगमा पेस गर्न एन्ट्यागका पदाधिकारीलाई पत्र काट्यो । तर, यो पत्रको पनि एन्ट्यागका पदाधिकारीले कुनै सुनुवाई गरेका छैनन्, उनीहरूले राष्ट्रिय सूचना आयोगको पत्र रद्दीको टोकरीमा फालेका छन् ।
यसरी विभिन्न निकायमा एन्ट्यागमा भ्रष्टाचार भयो, छानबिन गरी दोषीमाथि कारवाही गरी बिगोसहित असुलउपर गर्न माग गर्दै दर्जनौँ उजुरी पर्दासमेत सम्बन्धित निकायले नजरअन्दाज गर्नुको रहस्य के हो ? भन्दै एन्ट्याग सम्बद्ध एक कर्मचारी भन्छन्, कि त एन्ट्यागका भ्रष्टदेखि सबै त्रस्त बनेका छन्, कि त एन्ट्यागका भ्रष्ट पदाधिकारीसँग मिलिभगत गरी रकम असुली गरिरहेका छन् ? होइन भने भ्रष्टाचार निर्मूल पार्ने नाममा खडा भएका संवैधानिक निकाय र सरकारी निकाय किन कानमा तेल हालेर बसिरहेका छन् ? भन्दै, उनी आक्रोश पोख्दछन् ।

प्रतिक्रियाहरु