डिस होमद्वारा माओवादी अनुरोधको अवज्ञा

२०७२ मंसिर १९ गते, शनिबार

काठमाडौँ । डिस मिडिया नेटवर्क प्रालिले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतामाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै नेकपा माओवादीले भारतीय टिभी च्यानलको प्रसारण रोक्न गरेको अनुरोधको खिल्ली उडाएको छ । डिस होमले माओवादी अनुरोधको अबज्ञा गर्दै भारतीय टिभी च्यानल बन्द नगर्ने बताएको छ । भारतले नेपाल–भारतका तराई सीमाका सम्पूर्ण नाका बन्द गरेर नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतामाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै गतमंगलबारबाट त्यसको विरोधमा उत्रिएको नेकपा माओवादीद्वारा राष्ट्रिय प्रतिरोध संघर्षको कार्यक्रम घोषणा गरी नेपालमा चलाइएका भारतीय टिभी च्यानलको प्रसारण रोक्ने अभियान थालिएको थियो । डिस मिडिया नेटवर्क प्रालिका मार्केटिङ चिफ (बजार प्रमुख) कल्याण अधिकारीले ‘च्यानल बन्द कुनै पार्टी विशेष वा पक्षले भनेर बन्द हुने विषय होइन, बन्द गर्ने कुरा पनि आउँदैन ।’ च्यानल बन्द गरेर ग्राहकलाई धोका दिन नसक्ने भन्दै माओवादी अनुरोध स्वीकार्य नहुने बताए । उता च्यानल रोक्ने अभियानको नेतृत्व गरिरहेको माओवादी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय कार्यालय सदस्य खेम थपलियाले भारतीय च्यानल बन्द गर्न केवल संचालक र च्यानल प्रसारण गर्ने कम्पनीलाई सचेत गराउने काम भइरहेको बताए । सदस्य थपलियाले भने ‘मुलतः हाम्रो अभियानमा भारतीय टेलिभिजन च्यालनहरू बन्द गर्न आग्रह गर्दै सचेत गर्ने काम तीव्र रूपमा भइरहेको छ, अभियानलाई असहयोग गर्ने संचालक र कम्पनीमाथि कारवाही गरिने छ ।’ ‘भारतीय शासक वर्गले सार्वभौम र स्वतन्त्र देश नेपाललाई नाकाबन्द गरेर यति गम्भीर अमानवीय व्यवहार गर्दा समेत नतमस्तक बन्ने नेपालको सरकार र तिनको मतियार बन्ने व्यवसायी कम्पनीलाई छुट दिन सक्दनौं ।’ थपलियाले महासंघको अभियानलाई सघाउन र नाकाबन्दपछि उत्पन्न मानवीय संकटको प्रतिवाद गर्न माओवादीको प्रतिरोध अभियानमा एकजुट हुन समेत टिभी च्यानल व्यवसायी र प्रसारकहरूलाई आग्रह गरेका छन् । माओवादीले गतमंगलबारबाट भारतले गरेको नाकाबन्दको विरोधमा राष्ट्रिय स्वाधीनताको रक्षाको लागि भन्दै राष्ट्रिय प्रतिरोध संघर्षको घोषणा गरेर देशभर भारतीय नम्बर प्लेटका गाडी चल्न नदिने साथै भारतीय चलचित्र र टिभी च्यानल संचालन गर्न रोक लगाउने अभियान थालेको छ ।

प्रतिक्रियाहरु