दुबईमा फ्री मेडिकल चेक अप कार्यक्रम सम्पन्न

२०७२ आश्विन ३० गते, शनिबार

काठमाडौँ । अल रसिदिया प्राइवेट पोलिक्लिनिकको सहकार्यमा नेपाली समाजद्वारा आयोजित फ्री मेडिकल चेक अप कार्यक्रम १६ अक्टोबर २०१५ बर दुबईको अल रसिदिया प्राइवेट पोलिक्लिनिकको कार्यालयमा सफलतापुर्वक सम्पन्न भएको छ । स्वस्थ शरीरको पहिचानका लागि अति आवश्यकीय जाँच अन्तर्गत पर्ने ब्लड प्रेसर तथा सुगरको अनुपात जाँच गराउन बर दुबई क्षेत्रमा रहनु हुने ३२१ जना नेपाली महिला तथा पुरुषले फ्री मेडिकल चेक अपको लाभ लिनु भएको थियो । बिहान १० बजे देखि बेलुकी ८ बजेसम्म संचालित उक्त कार्यक्रमका वीचमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने सेसनहरु ३ पटकसम्म संचालन भएको थियो । सोहि क्रममा ओरियन फ्यामिली मेडिकल सेन्टरकाका जनरल म्यानेजर क्याप्टेन जे सी जोसेफ़ले स्वस्थ रहन ध्यान दिनु पर्ने कुराहरु लगायत ओरियन फ्यामिली मेडिकल सेन्टरले युएईमा नै सबैभन्दा सस्तो तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको बारे जानकारी गराउनु भएको थियो । हरेक महिना कुनै न कुनै चेक अपहरु नि:शुल्क संचालन गर्दै आएकोमा नेपाली समाज, युएईको माध्यमबाट युएईमा रहनु हुने नेपाली समुदाय माझ पोलिक्लिनिक पुग्न पाएकोमा हर्ष व्यक्त गर्नु भएको थियो ।
नेपाली समाजका तर्फबाट उपाध्यक्ष द्वय कृष्ण न्यौपाने र राम मोक्तान, प्रवक्ता टीका दत्त शिवा र कोषाध्यक्ष नरेन्द्र गिरी कार्यक्रममा सम्वोधन गर्दै पोलिक्लिनिकको सहकार्यमा निम्न कार्यक्रमहरु संचालन गरिने जानकारी दिनु भयो:
१ . हरेक महिना फ्री मेडिकल चेक अप गर्ने कार्यक्रमलाई निरन्तरता दिने,
२ . नेपाली समाजलाई युएई सामाजिक संस्थाको रुपमा दर्ता गराउन आवश्यक सदस्य संख्याका लागि सदश्यहरु बनाउन तिब्रता दिने,
३ . सदश्यहरुको जानकारी सहित समाजको वेव साइट छिट्टै संचालन गर्ने,
४ . ओरियन फ्यामिली मेडिकल सेन्टर र नेपाली समाज वीच समझदारी पत्र (MOU) गर्ने,
५ . ओरियन फ्यामिली मेडिकल सेन्टर र नेपाली समाज, युएईको लोगो अंकित विशेष परिचय पत्र (कार्ड) सदस्यहरुलाई वितरण गर्ने,
६ . कार्ड प्राप्त गर्ने सदस्यहरुलाई विभिन्न सुपर मार्केट, एयर लाइन्सहरुमा छुट प्रदान गर्ने व्यवस्थाहरु गर्ने,
७ . युएईमा हेल्थ इन्सुरेन्स नभएका कामदारहरुलाई सो कार्डबाट छुट उपलब्ध गराउने,
८ . मेडिसिन खरिद गर्दा कार्ड भएका सदस्यहरुलाई छुट प्रदान गर्ने,
९ . नेपाली समुदायलाई लक्षित गरि मेडिकल सेन्टरले नेपाली डाक्टर नियुक्त गर्ने र,
१० . ओरियन फ्यामिली मेडिकल सेन्टर तथा नेपाली समाजको सहकार्यलाई निरन्तरता दिंदै विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
सोहि अवसरमा समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले सेन्टरका जीयम क्याप्टेन जे सी जोसेफ़ तथा उहाँको टीमलाई नेपाली समाजले आगामी अक्टोबर ३०, २०१५ मा आयोजना गर्न गई रहेको दशैं तथा तिहार शुभकामना कार्यक्रममा सहभागी हुन् निमन्त्रणा दिनु भएको थियो भने क्याप्टेन जे सी जोसेफ़ले उक्त निम्तालाई स्वीकार गर्दै शुभकामना कार्यक्रममा ओरियन फ्यामिली मेडिकल सेन्टरले नेपाली समुदायलाई सहयोग गर्न के कस्ता गतिविधिहरु संचालन गर्दै जाने छ भन्ने बारे थप जानकारी दिने समेत बताउनु भएको थियो ।
फ्री मेडिकल चेक अप कार्यक्रममा सहभागी नेपाली महिला तथा पुरुष लगायत विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुले नेपाली समाजले युएईमा रहनु हुने नेपाली समुदाय प्रति लक्षित यस्ता कार्यक्रमहरुको उच्च मुल्याकंन गर्दै आगामी दिनहरुमा यस्तै सामाजिक कार्यहरु संचालन गर्दै लैजान शुभकामना व्यक्त गर्नु भएको थियो । समाजका तर्फबाट युएईमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई नेपाली समाजको सदस्यता लिन तथा आफ्ना साथीहरुलाई समेत सदस्यता दिलाउन पहल गर्न तथा समाजले गर्न सक्ने सहयोगबाट वंचित नहुन आह्वान गर्दै कार्यक्रम समापन भएको थियो ।
टीका दत्त शिवा
प्रवक्ता, नेपाली समाज – युएई

प्रतिक्रियाहरु