देशभरका नाकाहरु केहि खुकुलो

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौं, २८ असोज । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाहेक अन्यत्र खुकुलो पार्दै लगेको छ ।
मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका भने अझै ठप्प रहेको छ । वीरगन्ज नाका ठप्प हुँदा राजधानीलगायत देशैभर इन्धन, औषधीलगायत अत्यावश्यक सामाग्रीको अभाव कायमै छ ।
आयल निगमको तथ्यांक अनुसार कुल खपत हुने पेट्रोल, डिजलको ७० प्रतिशत, भान्साका प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत, हवाई इन्धनको ९० प्रतिशत यही नाका भएर भित्रने गरेको छ ।
सामान्य अवस्थामा रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनबाट दैनिक १ सय २० देखि १ सय ३० ट्यांकर इन्धन भित्रने गरेको नेपाल आयल निगमले जनाएको छ । गत असोज ७ गतेदेखि वीरगन्ज–रक्सौल नाकाबीचको मितेरी पुलमा सुरु भएको मधेसी मोर्चाको धर्ना २१ औं दिन पनि कायमै छ ।
दसगजामा रहेको सिर्सिया खोलाको पुलमा ४ वटा पाल टाँगेर मोर्चाका कार्यकर्ता धर्नामा बसेका छन् । उता, भारतीय पक्षले सुनौली–भैरहवा नाकाबाट नेपालतर्फ हुने आयातलाई खुकुलो बनाए पनि अन्य मालबाहक गाडीको तुलनामा पेट्रोलियम पदार्थ र एलपी ग्यासका गाडी भने पर्याप्त रुपमा छाडेको छैन ।
लामो समयदेखि लाइनमा बसेका पट्रोलियम पदार्थका ट्यांकर र ग्यास बुलेटका गाडी भारतले कोटाका आधारमा नेपाल पठाइरहेको छ । यो नाका भएर सबैभन्दा धेरै तरकारी र फलफूल भित्रिएका छन् ।
बुधबार राति यो नाका भएर २ सय ३३ वटा गाडी नेपाल प्रवेश गरेका छन् । त्यसमा ६१ वटा पिकअप भ्यान, १० वटा ग्यास बुलेट, पेटोलको २ र चार वटा डिजेलका ट्यांकर रहेका छन् ।
सामान्य अवस्थामा प्रतिदिन यो नाका भएर ४ सय सम्म मालबाहक गाडी नेपाल भित्रने गरेका थिए । बाँकेको नेपालगन्ज–रुपैडिहा नाका पूर्ववत् अवस्थामा आएको छ । यो नाका भएर सहज रुपमा मालबाहक गाडी र पेट्रोलियम पदार्थका गाडीहरु नेपाल भित्रिरहेका छन् ।
बुधबार राति यो नाका भएर डिजेलका २३, पेट्रोलका ७ वटा ट्यांकर, ग्यास बुलेट २ वटा र मट्टितेलका दुई वटा ट्यांकर नेपाल भित्रिएका छन् । त्यस्तै अन्य ९९ वटा मालबाहक गाडी समेत नेपाल प्रवेश गरेका छन् ।
विराटनगरको रानी भन्सारबाट बुधबार रातिसम्म ६१ वटा गाडी नेपाल भित्रिएकोमा १३ वटा डिजल, ६ वटा पेट्रोलका ट्यांकर र ४ वटा ग्यास बुलेट नेपाल आएका छन् । बिहीबार बिराटनगरका २३ वटा पेट्रोल पम्पबाट १ लाख १२ हजार लिटर पेट्रोल वितरण भइरहेको छ ।
उता, काँकडभिट्टा नाका हुँदै बुधबार रातिसम्म १ सय ७० वटा गाडी नेपाल प्रवेश गरेका छन् । जसमा १६ वटा पेट्रोलियम पदार्थ बोकेको गाडी रहेका छन् ।
यस्तै, सुदूरपश्चिमको कैलालीमा रहेको गौरीफन्टा नाका पनि पूर्ण रुपमा सञ्चालनमा रहेको छ । यहाँबाट नेपालले पठाए जति पेट्रोलियम पदार्थका गाडीमा तेल भरेर भारतले पठाउँदै आएको धनगढी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु