नयाँ सभामुख चयन प्रक्रिया सुरु हुदै

२०७२ आश्विन २७ गते, बुधबार

काठमाडौं, २७ असोज । सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को आज बस्ने बैठक अघि नै पदबाट राजीनामा दिई नयाँ सभामुख चयनका लागि मार्गप्रसस्त गर्ने बताइएको छ । सभामुखले राजीनामा दिएपछि व्यवस्थापिका संसद्ले नयाँ सभामुख चयन प्रक्रिया सुरु गर्ने भएको छ । सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ । नयाँ संविधानको धारा २९९ को उपधारा २ मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले राजीनामा दिन लागेको संसद् सचिवालयले जनाएको छ ।
अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरुले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एक जना निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
असोज महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित गरिसक्ने तयारीमा संसद् सचिवालय जुटेको छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति भने कात्तिक १५ गतेभित्रै टुंगो लाग्ने छ । ती दुवै पद संसद् सुरु भएको एक महिनाभित्र निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । चालु अधिवेशन असोज १५ गते सुरु भएको थियो ।

प्रतिक्रियाहरु