प्रहरीद्वारा निःशुल्क गाडी संचालन

२०७२ आश्विन २६ गते, मंगलवार

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीले काठमाडौंका तीन रुटमा निःशुल्क गाडी संचालन गरेको छ । प्रहरीले काठमाडौंमा निःशुल्क गाडी चलाएपछि यात्रुलाई केही सहज भएको छ । इन्धन अभावले सार्वजनिक गाडी कम चल्दा यात्रुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै प्रहरीले आइतबार दिउँसोदेखि काठमाडौंमा निःशुल्क गाडी चलाउन थालेको हो ।
प्रहरीका अनुसार पहिलो रुटको गाडी बिहान ११ बजे नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै दिउँसो साढे १ बजे फेरि नक्सालसम्म गाडी पुग्ने छ ।
यसैगरी दोस्रो रुटको गाडीले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै दिउँसो २ बजे फेरि नक्सालसम्म सेवा पुर्‍याउने छ ।
तेस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी जय नेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातो पुल हुँदै दिउँसो साढे १ बजे फेरि नक्साल पुगेर सेवा पुर्‍याउने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु