प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता

२०७२ आश्विन २५ गते, सोमबार

काठमाडौं, २५ असोज। प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान भेटवार्ता भएको छ । राजदूत राय सोमबार बिहानै प्रधानमन्त्री ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । राजदूत रायले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन । उनले नाकामा भैरहेको अवरोध चाँडै हट्ने आश्वासन समेत दिएको ओलीको निजी सचिवालयले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै टेलिफोन गरेर ओलीलाई बधाईसहित भारत भ्रमणको निम्तो दिइसकेका छन ।
यसैबीच, नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति भवनमा दिउँसो १ बजे आयोजना हुने विशेष समारोहमा ओलीले सपथ लिने भएका हुन् ।
प्रधानमन्त्री ओलीसँगै सत्ता साझेदार एमाओवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार फोरमबाट पनि केही मन्त्रीलाई सपथ दिलाउने तयारी दलहरुले गरेका छन् , सम्भवतः एमालेबाट भीम रावल, विष्णु पौडेलसहित केही, एकीकृत माओवादीबाट कृष्णबहादुर महरा वा टोपबहादुर रायमाझीसहित केही, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही र मधेशी जनअधिकार फोरमबाट विजय गच्छदारसहित केहीले आजै मन्त्री पदको सपथ लिनेछन् । यद्यपि, कुन कुन दलले कुन कुन मन्त्रालय कति कति पाउने भन्ने अझै टुंगो भइसकेको छैन । राप्रपालगायत सरकारलाई समर्थन गर्ने साना दलले पनि केही मन्त्रालय पाउने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु