ओली प्रधानमन्त्रीमा निर्वाचित

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै ओली नेपालको ३८ औं प्रधानमन्त्री बनेका हुन् । ओलीले ३३८ मत पाए भने कोइरालाले २४९ मत पाएका छन् । एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माले लगायतका दलहरुको समर्थनमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । निर्वाचनमा ५९७ जना सांसदहरु मध्ये ५८७ जना सहभागी भएका थिए । नयाँ प्रधानमन्त्री बन्न सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी प्रमुखहरुबीच प्रतिश्पर्धा भएको हो ।
प्रधानमन्त्री निर्वाचनसँगै लामो समयदेखि मूख्य दलबीचको सत्ता साझेदारी गर्ने अभ्यास अन्त्य हुँदै सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम राजनीतिक सहमतिको सरकार गठन हुन नसकेपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गरिएको हो ।

प्रतिक्रियाहरु