आजदेखि नयाँ नोट साट्न पाइने

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौ, २४ असोज । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व बडा दसैं र दीपावलीका अवसरमा आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । बैंकले पोहारेको तुलनामा यो वर्ष १८ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान दिएर यस वर्ष ५७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बजारमा पठाउने तयारी बैंकले गरेको हो । नेपाल राष्ट्र बैंकले गत वर्षको यही अवसरमा ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष माग बढी हुने अनुमानका आधारमा नयाँ नोटको प्रवाह बढी गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीका अनुसार सबै सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकका कार्यालयबाट र काठमाडौं उपत्याका हकमा बैकिङ्क कार्यालय थापाथलीबाट आजदेखि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी देशमा सञ्चालित वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने छन् । त्यसका लागि राष्ट्र बैंककले केन्द्रीय कार्यालय बलुवाटरबाट ती बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंककै सटही केन्द्रबाट नयाँ नोट लिन चाहने सर्वसाधारणले एक व्यक्तिले रु २२ हजारसम्मको नयाँ नोट साट्न सक्नेछन् । प्रत्येक व्यक्तिले पाँच, १० र २० का दुई–दुई प्याकेट नयाँ नोट साट्न सक्नेछन भने ५० र १०० रुपैयाँ दरका एक–एक प्याकेट नयाँ नोट पाउनेछन् । त्यस्तै निजामति, सैनिक, प्रहरी सशस्त्रका कर्मचारीका लागि आवश्यक पर्ने नयाँ नोटका सम्बिन्धित कार्यालयको पत्रका आधारमा आवश्यक नयाँ नोटको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको प्रवक्ता पङ्गेनीले जानकारी दिए । विगतका वर्षमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट उपलब्ध गराए जति नयाँ नोट सर्बसाधारणलाई वितरण नगरेकाले यस पटक भने बैंक तथा वित्तीय संस्थाले मागेजति नयाँ नोट उपलब्ध हुने छैन ।

प्रतिक्रियाहरु