३८ औं प्रधानमन्त्रीका लागि चुनाव हुदै

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौ, २४ असोज । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । आज बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्नेछ । प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका अध्यक्ष ओली पार्टीका सभासद, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित १७ दलको समर्थन रहेको छ । संसदमा रहेका ३० राजनीतिक दल र २ स्वतन्त्र सांसदमध्ये ओलीकै पक्षमा बढी मत देखिएको छ । ओलीलाई १७ राजनीतिक दल र १ स्वतन्त्रले समर्थन जनाइसकेका छन् भने नेमकिपाले पनि मतदान गर्ने आश्वासन दिएको छ ।
ओलीको प्रस्तावक र समर्थक दलमा रहेका सांसदको संख्या ३ सय ३० पुगेको छ । नेपाली कांग्रेसले मधेसी दलको समर्थन खोज्ने प्रयास गरेको छ । कांग्रेसका दुई सय ७, मधेसवादी दलका ५७ र बाँकी केही सभासदलाई आफ्नो पक्षमा पारेर चुनाव जित्ने विश्वास गरेको छ ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसको पक्षमा नखुलेका धेरै सभासद रहेको बताए । मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहुमत ल्याउनुपर्नेछ । अहिले व्यवस्थापिका संसदमा ५ सय ९८ सांसद छन् । प्रधानमन्त्री चुनिनका लागि कम्तीमा ३ सय मत प्राप्त गर्नुपर्नेछ ।
व्यवस्थापिका संसदमा हुने मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत कायम हुन नसके पुनः निर्वाचनका लागि अर्को मिति तोकिन्छ । तीन पटकसम्म पनि निर्वाचित हुन नसके पुनः प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

प्रतिक्रियाहरु