रुसी सैनिक तैनाथमा अमेरिका र नेटोको आपत्ति

२०७२ भाद्र २४ गते, बिहीबार

काठमाडौं,२४ भदौ । अमेरिका र नेटोले सिरियामा रुसी सैनिकको उपस्थिति बढाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।
अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेई लाभरोभसँग टेलिफोन वार्ता गर्दै सैन्य उपस्थितिका बारेमा चासो जनाएका हुन ।
नेटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि यदि खबरहरुमा आए जस्तै रुसले सिरियामा सैनिक बढाएको हो भने त्यसले द्वन्द्वको समाधान नगर्ने बताए ।
सिरियामा चार वर्षदेखि जारी गृहयुद्धमा मूख्य पक्ष रहेको रुसले भने आफूले सैन्य विज्ञ पठाउनु बाहेक अरु कुनै काम नगरेको बताउँदै आएको छ ।
तर विश्लेषकहरुले भने रुसले दरिलो साथ नदिएको भए सिरियाका शासक बहार अल असादको शासन अन्त्य भैसक्थ्यो भन्ने टिप्पणी गरेका छन् ।
रुसले थप एअरक्राफ्ट, दुई वटा ट्यांक र केही सैनिक सिरिया पठाएको दावी अमेरिकी अधिकारीहरुको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने रुसले सिरियालाई सैन्य प्राविधिक सहयोग गरिरहेको कुरा कुनै लुकेको विषय नभएको तर सैनिक नै पठाइएको भन्ने कुरा चाहीं आधारहीन भएको बताएका छन । – एजेन्सी

प्रतिक्रियाहरु