सुर्खेतमा पुन:आन्दोलन चर्कियो

२०७२ भाद्र ३ गते, बिहीबार

काठमाडौ, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै सुर्खेतमा पुन:आन्दोलन चर्काउन थालिएको छ । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका छन् । आन्दोलनकारीहरुले निषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ । वुधबार मात्रै उनीहरुले सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् । अव देखिको आन्दोलन निषेधाज्ञा तोडेर सरकारी कार्यालय कब्जा गर्नमा केन्द्रीत रहने नागरिक संघर्ष समितिले जनाएको छ ।
समितिले सम्पूर्ण राजनीतिक दलहरुलाई पार्टीगत झण्डा त्यागेर आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेको छ । नागरिक संघर्ष समितिले वीरेन्द्रनगर बजारको मूख्य प्रवेशद्वार मंगलगढीचोक र वीरेन्द्रचोकमा अखण्ड मध्यपश्चिम प्रदेश लेखिएको साइन बोर्डसमेत राखेको छ । आन्दोलनकारीले अखण्ड मध्यपश्चिम माग्दै भएको आन्दोलनका क्रममा मृत्यु भएका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिंह रजवारको नाममा विभिन्न चौकको नामाकरण समेत गरेका छन् । सुर्खेतमा भएको आन्दोलन बिहीबार ११ औं दिनमा प्रवेश गरेको छ । एघार दिनदेखिको बन्दका कारण यस भेगका सर्वसाधारणको दैनिकी नराम्ररी प्रभावित बनेको छ । सुर्खेतका शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात समेत पूर्णरुपमा ठप्प छन् । बैंक तथा सरकारी कार्यालयसमेत नखुल्दा अत्यावश्यक काम समेत ठप्प बनेका छन् ।
यसैगरी सिंगो रुकुमलाई प्रदेश पाँचमा राख्नुपर्ने माग गर्दै आमहड्तालमा उत्रिएका रुकुमेलीहरुको आन्दोलन पनि बिहीबार एघारौं दिन प्रवेश गरेको छ ।
यसैगरी, लगातार छैँठौदिन बन्दका कारण आज पनि रौतहटसहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण रौतहट जिल्लाको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएतका बजारहरुमा रहेको पसलहरु आज पनि बन्द रहेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सीमांकनको विरुद्धमा अनिश्चितकालिन बन्द गरेर आन्दोलन गरिरहेको छ । बिहानैदेखि मोर्चाका कार्याकार्ताहरु जिल्लाका मुख्यमुख्य चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन । बन्दकर्ताहरुले हिजोदेखि सदरमुकाम गौर लगाएतका स्थानमा रहेको सरकारी कार्यालयहरु र बैङकहरु समेत बन्द गराएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु