११ वर्षकी बालिका आमा बनेपछि

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौं, २९ साउन । पाराग्वेमा ११ वर्षकी बालिकाले छोरी जन्माएकी छन् । सौतेनी बाबुबाट बलात्कृत भएकी उनले छोरी जन्माएकी बिबिसीले जनाएको छ । डाक्टरका अनुसार ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । बच्चाको तौल ३.५५ केजी रहेको अस्पतालले जनाएको छ । अहिले दुवै जनाको स्वस्थ्य अवस्था राम्रो छ ।
उनलाई गर्भपतन गर्न सरकारले अनुमति नदिएपछि बच्चा जन्माउन बाध्य भएको खबर छ । पराग्वेमा आमाको ज्यान खतरामा भए मात्र गर्भपतनको अनुमति पाइन्छ । तर ती बालिकाको अवस्था खतरामुक्त भएकाले गर्भपतन गर्न नदिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले गर्भपतनको अनुमति नदिएपछि चर्को विरोध भएको थियो । उनको सुरक्षाको लागि नाम खुलाइएको छैन ।
उनी १० वर्षको हुँदा ४२ वर्षका सौतेनी बाबुले बलाकार गरेको आरोप छ । तर आफुले बलात्कार नगरेको ४२ वर्षिय आरोपीले बताएका छन् । बालिकाको आमालाई पनि छोरीको ख्याल नगर्दा घटना भएको भन्दै कारवाही गरिएको छ ।
अस्पतालका डाक्टरका अनुसार रैना सोफिया अस्पतालमा १२ वर्षका दुई जना बालिकासँगै अरु युवती पनि गर्भवती छन् । उनीहरुले पनि बच्चा जन्माउने तयारी गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार १५ वर्ष मुनि आमा बन्नु खतरा हुन्छ । शारीरिक विकास हुन बाँकी भएकाले १५ वर्ष मुनि गर्भवती हुँदा आमाको ज्यान जान सक्ने अध्ययनले देखाएको छ । यसकै कारण विकासोन्मुख देशमा धेरै युवतीको ज्यान जाने गरेको छ ।

प्रतिक्रियाहरु