‘ राज्य धर्ममा तटस्थ हुनुपर्छ’

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौँ, २७ साउन । राजनीतिक पार्टीका नेता र राजनीतिक विश्लेषकले नयाँ संविधानमा धर्मप्रति राज्य तटस्थ हुनुपर्ने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक व्यवस्था’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ संविधानमा राज्य धर्मप्रति तटस्थ हुनुपर्ने बताए । “राज्य धर्म निरपेक्ष र नागरिक स्वतन्त्र हुनुपर्छ । धर्मको नाममा राजतन्त्रलाई फर्काउने गरी कुरा आएको छ, यो नेकपा एमालेको लागि मान्य हुँदैन” उनले भने । सचिव ज्ञवालीले धर्मको प्रचार गरेर भ्रष्टाचारीलाई सुनपानी छकर्ने कार्य आपत्ति जनक भएको बताए ।
राज्यभित्र बस्ने सबै नागरिकले आफ्नो आस्था अनुसार धर्म मान्न पाउँनेपर्ने भन्दै ज्ञवालीले “कसैलाई जबरजस्त धर्म परिवर्तन गराउँनेलाई राज्यले कानुन बनाएर कारवाही गर्नुपर्छ । उनले अगाडि भने, “धर्मको नाममा दक्षिणपंथी राजनीति भइरहेको छ यसलाई मान्न सकिदैन ।”
एमाओवादीका प्रबक्ता दिनानाथ शर्माले धर्मको आधारमा राज्यले शासन गर्न नपाइने बताए । उनले भने, “नागरिकको लागि राज्य अभिभावक भएकाले धर्मको आधारमा शासन गर्न हुँदैन । राज्य धर्म निरपेक्ष हुनपर्छ र नागरिकले आफ्नो आस्था अनुसार धर्म मान्नु पाउनुपर्छ ।”
प्रबक्ता शर्माले ९० र ९५ प्रतिशत नेपाली हिन्दू धर्मावलम्बी भन्ने कुरा गलत भएको बताए । राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्ने कुराबाट एमाओवादी विचलित नभएको भन्दै उनले भने, “नयाँ संविधानमा धर्म निरपेक्ष राज्य हुनुपर्छ भन्ने अडानबाट एमाओवादी विचलित हुँदैन । धर्मको नामबाट जनतामाथि शासन गरिनु हुँदैन । जनताले स्वातन्त्रपूर्वक कुनै धर्ममा अस्था राख्न पाउँनुपर्छ ।” शर्माले राती गाईको मासु खानेहरुले विहान गौमाता भनेर पुजा गर्ने गरेको भन्दै यो धार्मिक ढोङ भएको बताए ।
त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरमका उपाध्यक्ष मोहन लालबाबु रावतले धर्मको राजनीति गर्नेहरुले अरुको न्याय गर्न नसक्ने बताए । नयाँ संविधानमा धर्मप्रति राज्य तटस्थ हुँने व्यवास्था गरिनुपर्ने बताउँदै उनले भने, “राज्य धर्मप्रति तटस्थ नरहे सम्पूर्ण नागरिकमाथि न्याय हुँदैन । नयाँ संविधानमा राज्य धर्म निरपेक्ष र नागरिक स्वातन्त्र हुन पाउँने व्यवस्था हुनुपर्छ ।”
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले धर्म निरपेक्षताले कुनै धर्मको पक्ष र कुनै धर्मको विपक्ष नभइ राज्यले सबै धर्मलाई समान व्यवहार गर्ने बताए । मानिसका भावनामा खेलेर जबरजस्त धर्म परिवर्तन गराउँन भने नपाइने भन्दै पीटरले कानुन बनाएर राज्यले नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु