नाइजेरियामा शक्तिशाली विस्फोट, ४७ जनाको मृत्यु

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौं, २७ साउन । नाइजेरियाको बोर्नो प्रान्तमा भएको शक्तिशाली बिस्फोटमा ४७ जनाको मृत्यु भएको छ । बोर्नो प्रान्तको साबोन गारी नगरमा भएको सो विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
स्थानीय समयअनुसार मंगलबार दिउँसो भएको सो बिस्फोटका कारण आसपासका धेरै घर ध्वस्त भएका छन् भने दर्जनौं सवारी साधनमा क्षति पुगेको छ ।
आतंकवादी समूह बोको हराम सक्रिय रहेको यो प्रान्तमा भएको बिस्फोट सोही समूहले गराएको हुन सक्ने नाइजेरियाली सेनाको दाबी छ । यद्यपी बोको हरामले भने घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।
बियु जनरल अस्पतालकी एक नर्सलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार सो अस्पतालमा कम्तीमा ४७ शव ल्याइएको छ भने ५० भन्दा बढी घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले सत्ता सम्हाले यता हिंसात्मक घटनामा ८ सय जनाको ज्यान गइसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु