‘चिनियाँ जहाजवाट नाफा कमाउन सकिन्न ‘

२०७२ श्रावण २५ गते, सोमबार

काठमाडौँ । पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव तथा चिनियाँ जहाजको समस्‍या समाधान समितिका संयोजक सुरेश आचार्यले चीनले अनुदानमा दिएका जहाज उडाएर लाभ दिन नसकिने निष्कर्ष निकालेका छन । चिनियाँ जहाजको समस्या समाधान समितिले जहाज उडाएर लाभ लिन नसकिने निष्कर्ष निकालेको हो। सहसचिव तथा समिति संयोजक सुरेश आचार्यले यो निष्कर्षलाई मन्त्रिपरिषद्मा पठाएर जहाजको अवस्था र उडानको यथार्थ जानकारी दिइने बताए। उनका अनुसार चीनले अनुदानमा दिएका दुईवटा जहाजमध्ये ५६ सिट क्षमताको एमए ६० लाई उडाएर लाभ लिन नसकिने निश्चित भइसकेको छ।
१८ सिट क्षमताको वाई १२ ई का सम्बन्धमा भने चिनियाँ पक्षले परफरमेन्स परीक्षण गरेर प्रतिवेदन दिएपछि मात्रै भन्न सकिने अवस्था छ।नेपालका सबै विमानस्थलमा एमए ६० टेक अफ गर्न नै समस्या हुने देखिएको छ। यो जहाजलाई स्टप वे र क्लियर वे चाहिन्छ। यो सुविधा सबै विमानस्थलमा छैन।
एटीआर नामक ७२ सिट क्षमताको जहाजलाई उडान तथा अवतरणमा समस्या नहुने र ५६ सिट क्षमताको एमए ६० मा समस्या हुनुले पनि यो जहाजका लागि मात्रै सबै विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिँदैन। स्टप वे र क्लियर वे जहाज आउनुपूर्व नै निर्धारण नहुनु तथा सबै विमानस्थलमा जहाजको परफरमेन्स परीक्षण नगर्नु नै समस्या आएको समितिको बुझाइ छ।
जहाज आउनुपूर्व नै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्‍न मानन्धरको संयोजकत्वमा गठन भएको समितिले विमानस्थलको परफरेमेन्स अनिवार्य जाँच गर्नुपर्ने प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदनलाई बेवास्ता गर्नु नै अहिलेको मुख्य समस्या भएको समितिको बुझाइ छ।
त्यतिबेला सबै विमानस्थलमा जहाजको परफरमेन्स जाँच गरेको भए जहाजले क्षमता अनुसार यात्रु बोक्न नसक्ने (पे लोड)को समस्या अहिले आउने थिएन।५६ सिट क्षमताको जहाजले ३५÷३६ जना मात्रै बोक्न सक्ने भएपछि यसबाट नाफाको कल्पनै गर्न नसकिने निगमको भनाइ छ।
निगमले चिनियाँ जहाज नलिने यस अघि नै निर्णय गरिसकेको छ। नेपाल सरकारले निर्णय नदिएको कारण आइसकेको जहाज तथा आउने तयारीमा रहेको थप जहाजको ल्याउने वा नल्याउने विषय अन्योलमा छ।
चिनियाँ जहाज वाई १२ ई को डिजाइन नै बढी तौलको छ। यो जहाजको विमानस्थल परफरमेन्स अनुसार हेर्ने हो भने अन्य सामान्य जहाजको तुलनामा दुई सय केजी बढी तौलको छ।
चिनियाँ जहाजको समस्‍या समाधान समितिले जहाज उडाएर लाभ लिन नसकिने निष्‍कर्ष निकालेको हो।
यो तौलका कारण तीन जना यात्रु कम बोक्नुपर्ने हुन्छ। यो वाई १२ जहाजले दुई प्रतिशतभन्दा बढी उकालो भएको (अप्स स्लग)को धावमार्गमा पनि जाँदैन। लुक्ला धावनमार्ग ११ प्रतिशतको उकालो धावनमार्ग छ।
नेपालका अधिकांश विमानस्थलको धावनमार्ग दुई प्रतिशतभन्दा बढीको उकालो धावनमार्ग भएकोले पनि चिनियाँ जहाजले उडान गर्न सक्दैन। चिनियाँ पक्षले यही अगस्ट महिनाभित्रमा वाई १२ को परफरमेन्स चेकको रिपोर्ट दिने भनेका छ। यो प्रतिवेदन नआएसम्म पखर्नुपर्ने निगमले जानकारी दिएको छ।
चिनियाँ जहाज एमए ६० ले एक वर्षदेखि दैनिक साढे दुई लाख रुपैयाँ बीमा रकम तिर्दै आएको छ। अघिल्लो साता भएको एक सहमति पश्चात यस्तो रकम घटेर सवा दुई लाख रहको भए पनि अझै बीमा रकम महँगो नै भएको निगमले जानकारी दिएको छ।
चिनियाँ जहाज उडाएर नाफामा जान नसकिने भएको र पटक पटक धोका दिएकै कारण थप जहाज नल्याउने निर्णय गर्न निगमले मन्त्रालयमार्फत आग्रह गरिसकेको निगमका प्रवक्ता रामहरि शर्माले दिए। निगमका लागि सरकारले थप चारवटा जहाज ल्याउने सम्झौता गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु