विश्वको सबैभन्दा कुरूप कुकुर

२०७२ असार १९ गते, शनिबार

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा हालै कुकुरहरूबीच कडा प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धा कुनै लडाइँ झगडाको थिएन, कुकुरहरूबीचको सबैभन्दा कुरूप भन्ने प्रतिस्पर्धा थियो । अनि यो स्पर्धामा २६ वटा अरु एकसेएक कुरूप कुकुरहरूलाई माथ खुवाउँदै क्वासी मोदो नामको ठिमाहा कुकुर विश्वको सबैभन्दा कुरूप कुकुरको उपाधि जित्न सफल भयो । झण्डै हुँडार जस्तो जिउडाल भएको यो कुकुरका लमतन्न परेका खुट्टा, माथि उठेका कान तथा पुक्क परेको थुतुनो हेर्दा यो कुरूप छैन भनेर कसले भन्ला ? क्यालिफोर्नियाको पेटालुमामा आयोजित सोनोमा मरिन फेयरअन्तर्गतको कुरूप कुकुर प्रतियोगितामा सहभागी २७ वटा कुकुरमध्ये क्वासीले कुरूपतामा सबैभन्दा उत्कृष्टता प्रदर्शन गरेको निणार्यक मण्डलका प्रमुख ब्रायन सोबेलले बताए । विश्वको सबैभन्दा कुरूप कुकुरको ताज पहिरिएसँगै यो कुकुरले फ्लोरिडाका आफ्ना घरमालिकका लागि १५ सय डलर कमाइदिएको छ । यो कुकुर अब साँच्चीकै सेलिब्रेटी बनेको छ । विभिन्न खाले टेलिभिजन शोका साथै न्युयोर्क र सन फ्रान्सिस्कोमा हुने लाइभ इभेन्टहरूमा समेत यसले आफ्नो प्रस्तुती दिनेछ । प्रतियोगितामा विभिन्न ठाउँबाट कुकुरहरूलाई ल्याइएको थियो । धेरैजसो प्रतियोगीहरू सडकबाट उद्धार गरेर पालिएका कुकुरहरू थिए । कुकुरको रूप जस्तो भएपनि वा यसको शारीरिक अवस्था जस्तो भएपनि मानिसले त्यसलाई हेला नगरुन् र उसले दुख नपाओस् भन्ने कुराको चेतना वृद्धि गर्न कुरूप कुकुर प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु