हामीमाथि गम्भीर विश्वासघात भयो, अब पार्टी एकता हुन सक्दैन : बैद्य

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । नेकपा-माओवादीले एमाओवादीसँगको एकता प्रक्रिया भंग भएको घोषणा गरेको छ । साथै उसले पाँच माओवादीको एकता मोर्चाको औचित्य सकिएको समेत बताएको छ । प्रमुख चार दलबीच संविधानको विवादित विषयमा भएको १६ बुँदे सहमतिप्रति पार्टीको धारणा सार्वजनिक गर्न आज पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार भेटघाटमा माओवादीका अध्यक्ष मोहन बैद्यले अब एकता प्रक्रिया अघि नबढ्ने स्पष्ट गरे । ‘उहाँ (प्रचण्ड)ले हामी संविधान निर्माणको दिशामा जाँदैनौं, हामी संसदवादी दिशामा जाँदै भन्नु भएको थियो’ वैद्यले भने-‘हामीमाथि गम्भीर विश्वासघात भयो, अब पार्टी एकता हुन सक्दैन ।’
एमाओवादी अध्यक्ष प्रचण्डसँग संसदवादी कित्तामा नजाने कुरा मात्र नभई नयाँ जनवादी कार्यदिशामा समेत कुराकानी भएको वैद्यको ठोकुवा थियो । ‘पार्टी एकताका लागि एमाओवादीसँग झण्डै एक वर्षअघिदेखि गम्भीर कुराकानी भएको थियो’ वैद्यले भने-‘उहाँले दुई जिब्रे नीति लिनु भएको रहेछ ।’
यसैगरी माओवादीले भूकम्पपछि राहत सहयोगको नाममा मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाको विषय टट्कारो उठेको भन्दै उसले स्वाधिनताको पक्षमा आवाज उठाउने निर्णय पनि गरेको छ । उसले भूकम्पपछिको विपदको सामाना गर्नका लागि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभा गठनको माग गरेको छ ।

प्रतिक्रियाहरु