मनकामना केबलकार पुन सञ्चालन

२०७२ जेष्ठ २४ गते, आईतवार

काठमाडौं, २४ जेठ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भएपनि आजदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए । मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए । भूकम्पको धक्का कम हुँदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो । झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भिड लागेका छन् ।
भूकम्पले मन्दिर एक फि दक्षिण पश्चिम कोल्टिएपछि खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ । सोमबार गजुर पूजा गरेर गजुर निकाली मन्दिर भत्काउने कार्य सुरु गरिने पुजारी इन्सान थापा मगरले जानकारी दिए ।मन्दिर भत्काएपछि भित्र टिनले बारेर देवीको पूजा गरिने बताइएको छ । मनकामना दर्शन प्रालि, स्थानीय व्यवसायीलगायतले भने बाहिर पूजा गर्न पुजारीसँग आग्रह गर्दै आएका छन् ।
भारतीय भक्तजनसमेत यस याममा दैनिक दुई हजारदेखि दुई हजार पाँच सय भक्तजन मनकामना केबलकार चढ्ने गरेको कायस्थले बताए । एक महिना केबलकार बन्द हुँदा पाँच करोड रूपैयाँभन्दा बढी नोक्सान हुने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु