‘राहतमा भ्रष्टाचार गर्नेलाई कार्बाही गर्छौं ’

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरको नलिनचोकमा भूकम्प प्रभावित जनताको घर पुननिमार्णका लागि खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन । उनले भूकम्प पछिको उद्धार र पुननिमार्णमा आफ्नो पार्टीले पहिलो पहलकदमी लिएको भन्दै अन्य पार्टीहरु खास गरी सत्ताधारी नेताहरु काममा भन्दा मिडियामा फोटो देखाउनका लागि दौडिरहेको बताए ।
यसैबीच प्रकाण्डले अहिले देश विपत्तिमा रहेको बेलामा राष्ट्रिय सरकार र सविधानमा सहमति गर्ने कुरा गरेर नेताहरुले बेमौसमी बाजा बजाएको भन्दै सर्वपक्षीय सहमतिका आधारमा पहिलो काम राष्ट्रको पुननिमार्ण र जनताको पुनर्वास भएको बताए ।
यसैगरी उनले विदेशी शक्तिहरुको सहयोग स्वीकार्य हुने तर सहयोगका नाममा राष्ट्रिय स्वाधीनतामाथि हुने हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए । उनले पार्टीले देशैभरका स्वयसेवकहरुलाई भूकम्प प्रभावित सबै जिल्लामा निरन्तर खटाईरहने भन्दै अहिले जनस्तरबाट पार्टीको कामप्रति राम्रो मुल्याकंन भएको बताए । भक्तपुरमा विभिन्न स्वयसेवक टोलीले ग्रामिण तथा शहरी क्षेत्रका जनताको लागि टहरा बनाउने काम गर्दै आएको छ ।सो कार्यक्रममा माओवादी पोलिटव्यूरो सदस्य ईश्वरी दाहाल ‘असारे काका’, केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’ लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

प्रतिक्रियाहरु