भूकम्पको करामत , बहुविवाहको रहस्य छताछुल्ल

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२ जेठ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पले समाजमा हुने र लुकाउने गरेको बहुविवाहको केही घटनालाई पनि उजागर गरेको छ ।
विनासकारी भूकम्पले बहुविवाह गरी गोप्य तरिकाले राखिएका/बसेका महिलाहरु भूकम्पछि सार्वजनिकरुपमै बाहिर आउन थालेका हुन् । बहुविवाह गरी विभिन्न ठाउँहरुमा गोप्य तरिकाले राखिएका महिलाहरुले भूकम्पका कारण घर भत्किएपछि आफ्ना श्रीमानसँग सम्पतिको हक दाबी गरेको रहस्य खुलेको हो ।काभ्रेलगायतका जिल्लाहरुमा यस्ता घटना पाइएको र कतिपए उजुरीसमेत परेको राष्ट्रिय महिला आयोगले जनाएको छ । विगतमा बहुविवाह लुकिछिपी गरिएको र भूकम्पका कारण घरहरु भत्किएपछि त्यस्ता घटना बाहिर आएको आयोगको भनाइ छ ।
काभ्रेको बनेपामा बस्दै आएका एक बृद्धको काभ्रेकै नालामा अर्की श्रीमती भेट्टिएको राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाइँले इमेजखबरलाई जानकारी दिइन् । ती बृद्धको नाती–नातिनासमेत रहेको तर कान्छी श्रीमतीले ‘घर भत्केकाले खान र बस्ने ठाउ पाउँ’ भन्दै आयोगमा उजुरी दिएको प्रवक्ता हुमागाइँले बताइन् ।‘यो एउटा प्रतिनिधि घटना मात्रै भएको’ भन्दै हुमागाइँले अरु जिल्लाहरुमा यस्तो घटना रहेको तर यसको पुष्टि नभइसकेको उनको दाबी छ ,

‘बहुविवाह गर्नु जुनसुकै अपस्थामा पनि अपराध भएकाले यस्ता घटनालाई त्यसै छोड्न नहुने’ आयोगकी अध्यक्ष शेषचाँद ताराले इमेजखबरलाई बताइन् । लुकाएर बिहे गरिएको भएपनि र सार्वजनिक रुपमा बहुविवाह गरिएको भएपनि त्यसबाट महिलाहरु नै पीडित हुन बाध्य रहेको उनको भनाइ छ ।
नेपालमा बहुविवाहको कानुन पनि कमजोर रहेकाले यस्ता घटनाले बढवा पाएको शेषचाँद ताराले बताईन ।
भूकम्पका कारण महिलाहरुले थुप्रै पीडासमेत भोग्नुपरेको आयोगले जनाएको छ । आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पको असर सबैभन्दा बढी महिला र बालबालिकामा परेको समेत जिकिर गरेको छ ।
आयोगको टोलीले भूकम्प प्रभावित जिल्लाहरु सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौं, भक्तपर, ललितपुर, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, लमजुङ र तनहँुमा पुगेर त्यहाँ रहेका महिलाहरुको अवस्थाबारे अनुगमन गरेको थियो ।सो क्रममा विभिन्न अस्थायी शिविर (त्रिपाल, टेन्ट, टहरा) मा बसेका महिला तथा बालिकाहरु यौनहिंसाको शिकार हुनुका साथै केही जिल्लाहरुमा महिला तथा बालिकाहरु मानव बेचबिखनमा समेत परेको पाइएको आयोगको भनाइ छ ।प्रभावित जिल्लाहरुमा सुत्केरी, गर्भवती, स्तनपायी, तथा बृद्धा एवं अपांगता भएका महिला र बालबालिकाहरुको खन्डीकृत तथ्यांक संकलनको कार्य प्राथमिकताभित्र परेको नदेखिएको आयोगले जनाएको छ ।
भूकम्प प्रभावित महिलाहरुमा शारीरिक मानसिक तथा मनोेवैज्ञानिक असर परेको र स्थानीय निकायहरुमा महिला कर्मचारीको संख्या अत्यन्त कम रहेका कारण पनि राहत वितरण कार्यलाई महिलामैत्री बनाउन नसकिएको देखिएको समेत आयोगले सार्वजनिक गरेको छ ।
राहत तथा क्षतिपूर्ति वितरण गराउने कार्यमा महिला सहभागिता गराउन अस्थायी शिविरमा रहेका महिलाहरुलाई परिवार नियोजनको अस्थायी साधन उपलब्ध गराउन महिलालाई लक्षित गरी पठाइएका राहत सामग्री समयमै वितरण गर्न समेत आयोगले माग गरेको छ ।
विनाशकारी भूकम्पका कारण हालसम्म ८ हजार ६ सय ९७ जनाको मृत्यु भएकोमा ४ हजार ८ सय जना महिलाको मृत्यु भएको समेत आयोगले जनाएको छ । २२ हजार २ सय २० जना महिला घाइते भएको सरकारी तथ्यांक रहेपनि बेपत्ता हुनेको संख्या यकिन नभएको आयोगको भनाइ छ ।
‘राहत बाँड्न जाने टोलीमा महिलाभन्दा पनि पुरुषहरु धेरै भएको र कतिपए टोलीमा महिला हुँदै नभएको देखिएको छ’–अयोगकी अध्यक्ष शेषचाँद ताराले भनिन्–‘यसले गर्दा राहत महिला मैत्री हुन सकेन ।’

भूकम्पपीडित महिलाहरुको सुरक्षाका लागि महिला प्रहरीको समेत व्यवस्था गर्न जरुरी देखिएको महिला आयोगको भनाइ छ ।कतिपए ठाउँमा महिलाहरु एकसरो कपडा मात्रै लगाएर बस्न बाध्य भएको अध्यक्ष शेषचाँदले बताइन् । अन्य जिल्लाको तुलनामा काठमाडौं, ललितपुर, भक्तपुर र गोरखालगायतमा महिलाहरुको बसाइँ अलि व्यवस्थित रहेको आयोगको ठहर छ । सबैभन्दा बढी सिन्धुपाल्चोकमा महिलाहरुले समस्या भोग्नुपरेको छ ।‘महिलाहरुले भोग्नुपरका समस्या सुनाउने ठाउँको समेत अभाव देखिन्छ । पीडित महिलाले जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित महिला विकास कार्यालयमा गएर आफ्ना गुनासा राख्न सक्छन् । त्यति नभए राष्ट्रिय महिला आयोगमा आएरसमेत उनीहरुले आफ्ना समस्या टिपाउन सक्ने’ आयोगकी अध्यक्ष शेषचाँदले बताइन् ।

प्रतिक्रियाहरु