मच्छिन्द्रनाथको रथजात्रा पुन सञ्चालनको तयारी

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२जेठ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण रोकिरहेको रातो मच्छिन्द्रनाथको रथजात्रालाई पुन संचालन गर्ने सम्वन्धमा आज दिउसो निर्णायक छलफल हुने भएको छ । आज अपरान्ह साढे ३ बजे ज्यापू समाजको भवन भोलढोकामा रथयात्रा फेरि संचालन गर्नको लागि निर्णायक छलफल हुने ज्यापू समाजका अध्यक्ष मंगल महर्जनले बताए । छलफलमा गुथि संस्थान ललितपुर शाखा, पुजारी, रथ बनाउन संलग्न गुथियार लगायतका रथयात्रासँग सम्वन्धित सबै समुदायको प्रतिनिधिको सहभागिता हुने पनि महर्जनले बताए । भूकम्पपछि रथयात्राको लागि बुँगमतीको छयासी कोटबाट पुल्चोकसम्म तान्नको लागि तयारी भएको पनि महर्जनले बताए ।
बुँगमतीबाट पुल्चोकसम्मको बाटोमा समस्या नभएको तर गाबहाल, महापाल, सुन्धारा लगायत पुल्चोकदेखिको भित्री ठाउँमा अधिकाशं घर भूकम्पका कारण क्षति भएको र टेको लगाइएको कारण रथयात्रामा समस्या पर्ने भएकोले मलमास महिना शुरु हुनुअघि पुल्चोकसम्म पुर्याउने तयारी भएको हो । मलमास महिनामा रथ तान्न नहुने परम्परा छ । यसपाली १२ वर्षे रथयात्राको क्रममा रातो मच्छिन्द्रनाथको रथलाई गएको बैशाख ९ गते बुंगमतीबाट तानिएको हो । बैशाख १२ गतेको भूकम्पका कारण बुँगमतीको छयासी कोटमा राखिएको छ भने मीननाथको रथ पाटनको नबहालमा राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु