डोलेश्वर महादेवको मूल मन्दिर पुनर्निर्माण हुने

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौ, १९ जेठ ।गएको वैशाख १२ को विनासकारी भूकम्पले भत्किएको केदारनाथको शिर डोलेश्वर महादेवको मूल मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ। केदारनाथ धामका पीठाधीश भीमाशंकरले सोमबार मन्दिरको शिलान्यास गरेका हुन्।मन्दिरको शिलन्याससँगै निर्माण कार्य सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका प्रथम उपाध्यक्ष किरण थापाले बताए।निर्माण कार्य सुरु गरिएको मूल मन्दिरको लागत ४ करोड ५० लाख लाग्ने थापाले बताए। लिच्छविकालमा प्यागोडा शैलीमा निर्माण भएको महादेव मन्दिर सन् १८९० को भूकम्पले चर्किएको र १९९० सालको महाभूकम्पले भत्काएपछि २००६ सालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो। दुई वर्षभित्र लिच्छविकालमा बनेको जस्तै प्यागोडा शैलीमा कुल ४ करोड ५० लाखको लागतमा दुईतले मन्दिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
सुरुमा डोलेश्वरको गुरुयोजनामा बन्दा करिब ३३ करोड खर्चको लागत अनुमान भए पनि अहिले लागत बढेर ५५ करोड नाघेकाले जतिसक्दो छिटो मन्दिर निर्माण हुनुपर्ने उनको भनाइ छ। मन्दिरको गुरुयोजनामा मूल मन्दिर, पाञ्चायन मन्दिर, यज्ञशाला, चौबन्दी सत्तल, धर्मशाला, ढुंगेधारा, स्नान घाट लगायतका भौतिक संरचना बनाउन ५ वर्ष लाग्ने समितिले जनाएको छ।कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले सम्पदा जोगाउन स्थानीय जनता नै सक्रिय हुनुपर्ने बताउँदै डोलेश्वरको गुरुयोजनालाई पूरा गर्न सबैको सहयोग रहनुपर्ने औंल्याए।
यसैगरी, नेपालमा सबभन्दा लामो समयसम्म सञ्चालन हुने रातो मस्त्येन्द्रनाथको रथ जात्रा अझै लम्बिने भएको छ। वैशाख १२ मा पुल्चोक पुर्‍याउने लक्ष्य लिइएको जात्रा सञ्चालनका लागि अशुभ मानिने भूकम्प जारी रहेकाले जात्रा लम्बिने देखिएको हो।भूकम्प रोकिएको चार दिनपछि शान्तिस्वस्ती गरेर पुन: जात्रा सुचारु गर्ने परम्परा छ। यसपालि परकम्प दैनिक आइरहेकाले जात्रा सुचारु गर्न गर्नुपर्ने विधिविधान हुन नसकेकाले जात्रा रोकिएको गुठी संस्थान प्रमुख रुद्रनाथ अधिकारीले बताए।‘केही निष्कर्ष र विकल्प निकाल्न जोशी, ३१ पानेजु संघ, वाराही र यँवल गुठीका प्रतिनिधिबीच छलफल भइरहेको छ,’ उनले भने,‘उपाय लागेन भने धर्म र संस्कृतिसम्बन्धी विज्ञहरूको विद्वत् समितिमा पत्र पठाउनुपर्ने हुन्छ।’
उनका अनुसार देवतालाई अनिर्णयको बन्दीमा राख्नुहुँदैन। ‘विभिन्न संस्कृति विज्ञहरूसँग राय सुझाव लिने काम भइरहेको छ,’ उनले भने। ज्यापू समाज यलले वैशाख ९ गते तानिएको रथ भैंसेपाटी, नख्खुलगायत स्थानमा रोकी १२ गते पुल्चोक पुर्‍याई त्यसरी नै रथलाई जावलाखेलदेखि बुङमती पुर्‍याउने लक्ष्य लिइएको थियो।रथ जात्रा विभिन्न कारणले दसंैसम्ममा तानेर बुङमती पुर्‍याउन नसकेको खण्डमा भक्तपुरवासीले तानेर भक्तपुर लैजान पाउने किंवदन्ती छ। भक्तपुर दरबार स्क्वायरको न्यातपोल मन्दिर मस्त्येन्द्रनाथ देवता राख्न बनाइएको जनविश्वास छ।बुङमतीका ८६ वर्षीय नारायण तुलाधरका अनुसार चेलीबेटी वा कोही व्यक्ति कतै बाहिर गएर ‘च्याचा गुनु’ अथवा आठ रात नौ दिनमा घर फर्कन नहुने जनविश्वास छ। ‘त्यसैगरी ८ महिना रथमा बसेर ९ महिनामा पनि भोटो जात्रा सम्पन्न गर्न नसके भक्तपुरवासीले रथ तानेर लैजाने किंवदन्ती छ,’ उनले भने। जोशी कीर्तिकरण जोशीले भने रथ भक्तपुर लैजाने भन्ने कुरा आधिकारिक नभई कथाका रूपमा रहेको बताए। ‘मस्त्येन्द्रनाथसँग जोडिएको कथामा यी कुरा सुन्नमात्र आउने हो,’ उनले भने, ‘असार २ गतेदेखि मलमास सुरु हुन्छ।’उनका अनुसार मलमासमा रथ तान्न नहुने परम्परा छ। ‘असारअघि रथ तान्न नसकेमा असार महिनाभर रथ हाल रहेको स्थान छ्यासिकोटमै रहनेछ,’ उनले भने।दैनिक आइरहेको परकम्प नरोकिँदा के कसरी अगाडि बढ्ने भन्ने विषयमा पानेजुहरू बीच छलफल भइरहेको जानकारी ३१ पानेजु संघका अध्यक्ष अमरराज पानेजुले दिए। उनले रथ तान्नपूर्व बलियो गरी मर्मत गर्नुपर्ने बताए। ‘रथ तान्न सुरुमा जोशीले शान्तिस्वस्ति पूजाका लागि साइत हेरिन्छ,’ उनले भने, ‘पूजा गरेको भोलिदेखि रथ तान्न सुरु हुन्छ।’
उनका अनुसार पाङ्ग्रा पछाडिको भाग धमापासा मर्मत गर्नुपर्छ। ‘शान्तिस्वस्तीसँगै रथ तान्नुपूर्व रथको स्थितिबारे वाराही, यँवल गुठीका नाइके, गुठी संस्थान, जोशीसँग छलफल गर्नुपर्छ,’ उनले भने। रथ पुल्चोकमा पुगेकै दिन मस्त्येन्द्रनाथको बाबु भनिने मीननाथको रथलाई पनि गा:बहालबाट तानेर पुल्चोक पुर्‍याइन्छ। आइतबार वर्षको एकचोटि रातो मस्त्येन्द्रनाथको दर्शन गर्न मन्दिर बाहिर ल्याइने आजुअजि देवतालाई मन्दिर धराप भएपछि नास द्य:को पाटीमा सारिएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु