काठमाडौं उपत्यकाका मानव बस्तीका लागि जोखिमपूर्ण

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं । विपत व्यवस्थापन सम्बन्धी सभासदहरुको अनौपचारिक फोरमले काठमाडौंमा आयोजना गरेकेा कार्यक्रममा भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले काठमाडौं उपत्यकाका केही ठाउँहरु मानव बस्तीका लागि जोखिमपूर्ण विज्ञहरुले ठहर गरेका छन् । भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले बिभिन्न अध्ययन र पछिल्लो भूकम्पको क्षतिपछि उनीहरुले केही त्यस्ता ठाउँहरु ‘लोकेट’ गरेका हुन् । उनीहरुले काठमाडौं पहिले ताल भएकाले यहाँको माटो कमजोर रहेको बताए ।
कार्यक्रममा भूगर्भविद डा.रन्जन दाहालले भने-‘केही हजार वर्षअघि काठमाडौं ताल थियो । ताल कटाएर बनाएको शहर भएकाले यहाँको माटो कमलो र कतिपय ठाउँमा बाक्लो छ । त्यसैले ठाउँ अनुसार यहाँ क्षति कम र बढि हुन्छ ।’उनले काठमाडौंको नैकाप, रामकोट लगायतका क्षेत्रमा बढि क्षति हुनु त्यहाँको माटोमै समस्या रहेको बताए । त्यस्तै जग्गा प्लटिङका नाममा काटेर पुरिएको घँडेरीमा बनाइएका घर उच्च जोखिममा हुने बताए । भूकम्प इन्जिनियरिङ विज्ञ प्राध्यापक डा. प्रेमनाथ मास्केले काठमाडौंको धापासी, गोंगबु, रामकोट, सितापाइला,ललितपूरका इमाडोल, धापाखेल तथा भक्तपूरका कौशलटार, सिपाडोलजस्ता ठाउँमा भूकम्पको बढी जोखिम रहने अध्ययनले देखाएको बताए ।
तुलनात्मक रुपमा जोखिमपूर्ण मानिएका असन क्षेत्रका घरहरुमा कम क्षति हुनुको कारण त्यहाँको माटोनै भएको उनीहरुले बताए । ‘धेरै माटो भएका ठाउँमा अग्ला घरहरू धैरै भत्किए, साना घर भत्किएनन्, त्यसकारण असन जोगियो’ दाहालले भने ।
काठमाडौं उपत्यकामा घर बनाउन प्रयोग भइरहेका इटा कुनै पनि गुणस्तरीय नभएको भन्दै मास्कले अब निर्माण सामाग्रीको गुणस्तरमा सरकारले कडाई गर्नुपर्ने बताए । अष्ट्रेलियामा बाँसका २९ तले भवनसम्म बनेका उदाहरण दिँदै उनले भने-‘अब हाम्रा बाँसहरुको उपयोगमा राज्यले नीति बनाएरै प्रोत्साहन दिनुपर्छ । बाँसको घर जति सुरक्षित कुनै पनि हुँदैनन् ।’
कार्यक्रममा विज्ञहरुले सभासदहरुको यो फोरममार्फत अब भवन निर्माण सम्बन्धी कडा संहिता ल्याउन संसदले काम गर्नुपर्ने बताएका थिए ।विपत व्यवस्थापनमै विद्याबारिधी गरिरहेका एमाले सभासद गंगालाल तुलाधरको संयोजकत्वमा बनेको फोरममा सबै दलका सभासदहरु छन् । यो फोरम भूकम्प आउनुभन्दा एक साताअघिनै गठन भएको यसका सदस्य तथा सभासद यज्ञराज सुनुवारले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार