बारपाकका भूकम्प पीडितसँग हातेमालो गर्दै माओबादी

२०७२ बैशाख २९ गते, मंगलवार

काठमाडौँ । वैशाख १२ गते आएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा नेकपा माओवादीले आफ्नो युवा दस्तालाई परिचालन गरेको छ । भुकम्पले गाउँ ध्वस्त पारेपछि खुला आकाशमुनि बसिरहेका बारपाकी जनतालाई अस्थायी घर निर्माण बनाइदिने कामदेखि ध्वस्त संरचना हटाएर पुरिएका सामान र अन्नपात निकालिदिने काममा अहिले बिप्लव माओवादीको युवा दस्ता रातोदिन खटिरहेको छ । रातो टिसर्ट लगाएका माओवादी युवाहरु बारपाकमा दिनरात खटेर जनताको उद्धारमा लागेपछि त्यस क्षेत्रका सबैले उनीहरुको प्रशंसा समेत गर्न थालेका छन् ।
बारपाकमा उद्धार कार्यमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डदेखि थुप्रै केन्द्रीय नेताहरु समेत खटेका थिए । राहत सामागीसहित महासचिव विप्लवको नेतृतवमा गएको माओवादी टोलीले जनताको दुःखमा दुःख साटिरहेको छ ।

महासचिव विप्लवसहित प्रबक्ता प्रकाण्ड, पोलिट्व्यूरो सदस्य उमा भुजेल, केन्द्रीय सदस्य गुणराज लोहनी, बारपाकका स्थानिय नेता जीतबहादुर घले लगायतले बारपाकको सबै क्षतिको अवलोकन गरेको थियो । उनीहरु टोलटोलमा पुगेर पीडितहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।

उद्दारको लागि बारपाक खटिएको नेपाली सेनाको नेतृत्वमा रहेको सुरक्षाकर्मीसँग पनि उनीहरुले अवस्थाबारे जानकारी लिएका थिए । वैशाख २५ गते बारपाक पुगेका विप्लवले त्यही दिन आफूले बोकेर लिएको सहयोग सामाग्री स्थानिय राहत वितरण समितिलाई हस्तान्त्रण गरेका थिए ।

सो अवसरमा विप्लवले बारपाकी जनताले माओवादी आन्दोलनलाई ठूलो सहयोग गरेको भन्दै आफूहरु विपतमा सहयोगको लागि आएको बताए । आफ्नो पार्टी बारपाकी जनताको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको माओवादी युवाहरुले प्रतिवद्धता जनाएका थिए ।

२६ गते विहान महासचिव विप्लवले युवा दस्तालाई पीडितलाई खुला आकाशमुनिबाट टहरामा ल्याउन निर्देशन दिएका थिए । ‘खुला आकाश मुनि रात विताउँन बाध्य बारपाकी जनतालाई तत्काल टहरामुनि ल्यानुहोला’ विप्लवले भने । बिहान ७ बजेदेखि १० बजेसम्म ध्वस्त बारपाकको विप्लवले अवलोकन गरे । अवलोकन सकेपछि उनले आफूले कल्पना नगरेको क्षति भएको बताए ।

बिप्लवले बारपाकको पुर्ननिर्माणको लागि राज्यले योजना बनाउनुपर्ने बताए । बारपाकमा जमिन फाटेकाले कतिपय स्थानमा पुनः बसोबास गर्न सकिने अवस्था छैन । त्यसैले महासचिव विप्लवले उनीहरुलाई अर्को ठाउँमा लगेर बसोबासको व्यवस्था मिलाएका थिए ।

त्यस्तै पार्टी प्रबक्ता प्रकाण्डले आफूहरू बारपाक लगायतका भूकम्पपीडित जनतासँग दुःखमा हालेमालो गर्ने बताए ।

बारपाक ४ स्थित भूकम्पबाट घाइते भएका ७० बर्षीय काले गुरुङको घर पन्छाउने कार्यमा माओवादी नेताहरु सहभागी भए । आफ्नै उमेरकी श्रीमतिसहित गुरुङ भत्केको घरमाथि बसेका थिए । उनी अरुजस्तै आफ्नो घर पनि पन्छाउन चाहन्थे तर आफू घाइते र श्रीमती काम गर्न नसक्ने भएकाले निरास भएर बसेका थिए । माओवादी नेताहरुसँगै युवाहरुले उक्त घरलाई पन्छाइ बस्ने टहरा निर्माण गर्ने कार्यमा जुटेका थिए ।

माओवादी नेताहरुले काम गरिरहँदा काले गरुङ भन्दै थिए– विप्लव बाबुको मन सहयोगी रहेछ । उनले अगाडि भने, ‘अस्ती प्रधानमन्त्री हेलिकोप्टरबाट आए वर्षा बसोबास गर्न टहरा बनाउने प्रयास गरौँला भने र उडेर गए तर माओवादी नेताहरु आफै काममा लागे, प्रधानमन्त्रीभन्दा सहयागी विप्लव रहेछन् ।’

बाँकेको कोहलपुरदेखि बारपाक पुगेका युवा राजु भुसालले आफूहरु बारपाकी जनतालाई खुला चौरबाट टहरामा ल्याउने बताए । त्यस्तै दाङको भालुवाङबाट बारपाक र आसपासका भूकम्प पीडितलाई आफूहरु सहयोग गर्न यहाँ आएको बताए । आफूहरु यहाँ रहँदा रातदिन पीडितसँगै रहन र उनीहरुका दुःखमा साथ दिने बताए ।


कास्कीका धनबहादुर बिक जस्तै ४० युवाहरु बारपाकीहरुलाई खुला आकाशमुनिबाट टहरामा ल्याउँन लागिपरेका छन् । उनीहरुले आफ्नो पार्टी महासचिव विप्लवको निर्देशन अनुसार काम गर्ने बताउँछन् ।
– दिपेन्द्र रावल (बारपाकबाट फर्केपछि)

प्रतिक्रियाहरु