हङकङेली अर्बपति लिद्वारा भूकम्प पीडितलाई १० करोड सहयोग

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौँ, १६ वैशाख । चिनियाँ अर्बपति व्यवसायी लि का सिङले भूकम्प पीडितहरूका सहयोगार्थ १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) सहयोग उपलब्ध गराएका छन् । हङकङेली धनाढ्य यिनकै नाममा संचालित लि का सिङ फाउण्डेशनले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी हङकङस्थित महाबाणिज्यदूतावासलाई जानकारी गराएको हो । सिङ अध्यक्ष रहेको फाउण्डेशनले विभिन्न मुलुकका शिक्षा, स्वास्थ्य लगायतका परोपकारी क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा गरिएको यो सहयोग भने पहिलो हो । भूकम्पपीडितका सहयोगार्थ निजी फाउण्डेशनबाट गरिएको यो सम्भवतः सबैभन्दा ठूलो रकम भएको महाबाणिज्दूत महेशप्रसाद दाहालले बताए । दूतावासले मंगलबारै एक पत्रमार्फत उनलाई धन्यवाद व्यक्त गरेको छ । फोर्ब्सले प्रकाशित गर्ने विश्व अर्बपतिहरूको सूचीमा १७ औं नम्बरमा रहेका सिङ विश्व शक्तिशालीहरूमध्ये २८ औं स्थानमा छन् । ८६ वर्षीय यिनी एसियाका भने सबैभन्दा धनाढ्य हुन् ।
सिङ र यिनका परिवारका सुरक्षामा खटिएका अंगरक्षक देखि सम्पूर्ण सुरक्षाकर्मी नेपाली छन् । यिनका सुरक्षार्थ पूर्व ब्रिटिस गोर्खाली सेनाको कमान्डमा दुईदर्जन बढी नेपाली खटिएका छन । ‘शनिबार नेपालमा भयानक भूकम्प गएको टेलिभिजनबाट थाहा पाउनासाथ उहाँले तुरुन्तै सहयोग गर्ने इच्छा देखाउनु भएको थियो’, त्यहाँ कार्यरत एक नेपालीले भने, ‘यो प्रचारका लागि नभएर दुःखका बेला नेपाल र नेपालीप्रतिको मानवीय भावना मात्र हो ।’ सन् १९९६ मा सिङका जेठा छोरा भिक्टर ली जार क्वी अपहरणमा परेपश्चात उनले आफ्ना र परिवारका सुरक्षा जिम्मा नेपालीका काँधमा सुम्पेका हुन् । यो ९० दशकको हङकङकै बहुचर्चित घटनामध्येको थियो । सिङले आफ्ना छोरालाई अपहरणकारीबाट मुक्त गर्न १ अर्ब हङकङ डलर (करिब १३ अर्ब रुपैयाँ) फिरौती बुझाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए । अपहरणको घटनामा फिरौती बुझाइएको उक्त रकम संसारमै अहिलेसम्मकै बढी भएको दाबी छ । ५३ मुलुकमा व्यापार व्यवसाय फैलिएको उनका विभिन्न कम्पनीमा अन्तर्गत करिब २ लाख ७० हजार रोजगाररत छन । उनी मातहत सञ्चालित हङकङका विभिन्न कम्पनीहरूमा समेत सयौं नेपाली कार्यरत छन् । व्यावसायिक सफलताका कारण ‘सुपरम्यान’ को उपमा पाएका बुद्ध धर्मावलम्बी सिङ अहिले पनि उत्तिकै सक्रिय छन् । हाइड्रोपावर, दूरसञ्चार, रियल स्टेट, प्लास्टिक लगायत उद्योगमा उनको लगानी छ ।

प्रतिक्रियाहरु