बढ्दैछ बैंकको ब्याजदर

२०७२ बैशाख १२ गते, शनिबार

काठमाडौँ । बैंकहरुले एक साताभित्रै ब्याजदर बढाउँदैछन् । बैंकको निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि बढ्दैछ । बैंकहरुसँग लगानीयोग्य रकम (तरलता) कसिलो भएपछि आफ्नो लगानी गर्न सक्ने क्षमता बढाउन निक्षेप आकर्षित गर्ने रणनीतिमा छन् । निक्षेप आकर्षणका लागि ब्याजदर बढाउनु बैंकहरुको बाध्यता हो । ‘बैंकहरुलाई लगानीयोग्य रकम राख्ने दबाव छ, यसका लागि निक्षेप बढाउनुको विकल्प छैन ।’ बैंकर्स संघका निवर्तमान अध्यक्षसमेत रहेका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भन्छन्– ‘बैशाख महिनामै निक्षेपको ब्याज दर बढ्छ ।’ बैंकहरुले अहिले दिइरहेको ब्याजदरभन्दा कम्तिमा एकदेखि दुई प्रतिशतसम्म ब्याजदर बढ्न सक्ने भण्डारीको अनुमान छ । बैंकहरुबीच निक्षेप तान्ने प्रतिस्पर्धा हुँदा ग्राहकलाई फाइदा पुग्ने उनको भनाइ छ । ‘हाम्रो (सिटिजन) बैंकले केही दिनमै व्याजदर बढाउने छ’ उनले भने । तीन वर्षदेखि बैंकिङ क्षेत्र लगातार लगानीयोग्य पुँजीको पर्याप्ता (अधिक तरलता) को चापमा रहेकाले बैंकले ब्याजदर घटाउँदै आएका थिए । जसकारण निक्षेपकर्ताहरु घट्दो ब्याजदरको मारमा परेका थिए । पैसा हुँदाहुँदै पनि लगानी गर्न नसक्नु अधिक तरलता हो भने लगानी गर्ने पैसा नहुनु तरलता अभाव हो । तरलता कसिलो मात्रै नभई बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा नाघ्ने अवस्थामा रहेकाले बैंकहरुले निक्षेप तान्न जोड दिएको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । ‘अहिले बैंकिङ क्षेत्रको औषत सीडी रेसियो ७९ प्रतिशत छ, राष्ट्र बैंकले यस्तो रेसियो ८० प्रतिशतभन्दा बढी राख्न हुँदैन भनेको छ ।’ शेरचनले भने– त्यसैले सीडी रेसियो मेन्टेन गर्न निक्षेप बढाउनुपर्ने तीब्र दबाब छ ।’ हाल बैंकहरुले निक्षेपमा दिने औषत ब्याजदर ३.९९ प्रतिशत छ । गत पुसमा ३.७५ प्रतिशत थियो भने २०७१ असारमा ४.०९ प्रतिशत दिन्थे । २०६९ असारमा यस्तो ब्याजदर ६.९९ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुको निक्षेपमा औषत ६ प्रतिशतसम्म व्याज दिन सक्ने बैंकरद्वय राजभण्डारी र शेरचनको आश्वासन छ । ‘असारसम्म ब्याजदर बढ्छ, त्यसपछि बैंकहरु निक्षेप आकर्षण गर्नभन्दा कर्जा प्रवाहतर्फ केन्द्रित हुने भएकाले ब्याजदर स्थिर रहने विश्लेषण गर्न सकिन्छ ।’ उनीहरुको विश्लेषण छ । तर, राष्ट्र बैंकले स्प्रेड दर पाँच प्रतिशत तल राख्नु भनेपछि व्यवसायको आकार बढे पनि सोअनुसार नाफा बढ्न नसकेको राजभण्डारी बताउँछन् । ‘गत वर्षकोभन्दा सिटिजन बैंकको निक्षेप ९ अर्बले र कर्जा ७ अर्ब रुपैयाँले बढेको छ ।’ उनले भने– तर, कारोबार बढेको तुलनामा बैंकको आम्दानी बढेको छैन ।’ स्प्रेडका कारण बैंकको नाफामा करिब ३० प्रतिशत कम भएको उनको दाबी छ । अर्थशास्त्रको नियमले पनि नेपाली बैंकहरुले ब्याजदर बढाउनुपर्ने बाध्यतामा परेका छन् । बजारशास्त्र अनुसार आपूर्तिभन्दा माग बढी भएपछि मागको सम्बोधन गर्ने अस्त्र प्रयोग गर्न बैंक बाध्य भएका हुन् । अहिले बैंकहरुको कर्जाको वृद्धिको अनुतापमा निक्षेपको वृद्धि कम छ । कर्जाको अनुपातमा निक्षेप बढाउने बलियो औजार व्याजदरको वृद्धि नै हो । त्यसबाहेक अर्थशास्त्रको नियमअनुसार सामान्यतया मूल्यवृद्धिभन्दा निक्षेपको व्याजदर बढी हुनुपर्छ । किनभने निक्षेपको व्याजदर आम्दानी हो भने मूल्यवृद्धि खर्च हो । खर्चभन्दा आम्दानी बढी भयो भने मात्रै आर्थिक हिसाबमा सन्तुलन पनि मिल्छ । जुन नियम अहिले नेपाली बैंकिङ क्षेत्रमा लागू भएको छैन ।

प्रतिक्रियाहरु