मुद्रास्फीति ७ प्रतिशत

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौं, ३ चैत्र । चालु आर्थिक पर्षको माघ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले जारी गरेको सातौं महिनासम्मको आर्थिकस्थितिमा मूल्यबृद्धि ७ प्रतिशतमा सीमित रहेको जनाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.८ प्रतिशत रहेको थियो । यस्तै, यस अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घट्न गइ रु.५० अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.६ प्रतिशतले बढी रु. ५२ अर्ब ८९ करोड पुगेकोे थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात १३ प्रतिशतले बढेर रु.४४४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २४ प्रतिशतले बृद्धि भइ रु. ३९२ अर्ब ६९ करोड पुगेको थियो । समीक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा रासायनिक मल, कोइला, एम एस वायर रड, सुन, कच्चा भटमासको तेल, सुपारीलगायतका वस्तुहरुको आयात घटेको कारण समग्र आयातको बृद्धिदर कम रहन गएको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १६.१ प्रतिशतले बृद्धि भइ रु. ३९४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.३ प्रतिशतले बढेकोे थियो ।
विप्रेषण आप्रवाह अघिल्लो वर्षको यसै अवधिको ३८.६ प्रतिशत बृद्धिको तुलनामा समीक्षा अवधिमा २.९ प्रतिशतले मात्र बढी ३२० अर्ब ९३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको २१.५ प्रतिशत बृद्धिको तुलनामा समीक्षा अवधिमा ३.९ प्रतिशतले बृद्धि भइ ३ अर्ब २६ करोड डलर पुगेको छ । मासिक रुपमाहेर्दा विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पौष महिनाको तुलनामा माघ महिनामा ७.८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रियाहरु