होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

२०७१ असार १ गते, आईतवार


काठमाडौ, १ असार ।पारिवारिक वातावरणमा बसोवास, पर्यटकीय क्षेत्रको घुमफिर र स्थानीय कला, संस्कृति र रीतिरिवाजको अनुभूति दिलाउन जिल्लाको भकुण्डे गाविसमा घरबास (होमस्टे) सुरु गरिएपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई घरबास अवधारणाले आकर्षित गरेको छ । बागलुङ सदरमुकामसँगै जोडिएको भकुण्डेमा केही वर्षअघिदेखि सुरु गरिएको घरबास कार्यक्रम व्यावसायिक रूपमा सफल हुन थालेको घरबास सञ्चालक खिम थापाले बताए ।भकुण्डेको उपल्लो बस्तीमा रहेका नौ वटा घरमा अहिले घरबास सुचारु छ । गाउँको पर्यटन विकासका लागि घरबास अवधारणा भित्र्याइएपछि पर्यटक आगमनमा पनि बर्सेनि वृद्धि भइरहेको बताइएको छ । अहिले दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घरबास गाउँ भकुण्डेमा भित्रिने गरेका छन् ।
“पछिल्लो समय घरबासमा बस्न आउनेको सङ्ख्या बढिरहेको छ, विभिन्न सङ्घसंस्थाबाट भ्रमण गर्न र अध्ययन अनुसन्धानका लागि समूह आउने क्रम बढी छ”, सञ्चालक थापाले भने , “व्यक्तिगत ढङ्गले घुमफिर र घरबासको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै छ ।”बागलुङ सदरमुकाम र छिमेकी सहरबाट बिदा मनाउन आउनेको सङ्ख्या पनि बढिरहेको थापाको भनाइ छ ।पारिवारिक वातावरणमा बसोवास, स्थानीय उत्पादनबाट बनेका परिकारको सेवन, पर्यटकीय क्षेत्रको भ्रमण, स्थानीय जातजातिको संस्कृति हेर्न र अनुभूति गर्न पाइने भएपछि पर्यटक लोभिएका हुन् ।
मगर जातिको बसोवास रहेको उक्त क्षेत्रमा स्थानीय खानाका परिकार व्यवस्था गरिएको छ । त्यस्तै मगर समुदायमा प्रचलित सालैजौ, यानिमायालगायतका मौलिक कला, संस्कृति पनि प्रदर्शन गर्ने गरिएको भकुण्डे–१ का अर्का सञ्चालक हस्त थापाले बताए ।प्रत्येक घरले घरबास व्यवस्थापनका लागि यसअघि क्षमता विकाससम्बन्धी विभिन्न तालिम पनि हासिल गरिसकेका छन् ।
घरबासमा आउने पर्यटकका लागि आधारभूत सुविधाको प्रत्याभूति गरिएको सञ्चालकहरू बताउँछन् । सरसफाइयुक्त वातावरण, खानेपानी, शौचालय, बिजुली बत्तीलगायतका सुविधा व्यवस्थित गरिएको छ । घरबास चलाएका घर २० देखि ३० जनासम्म बस्न सक्ने क्षमता छ । “घरबास सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढेको छ, हामीले अझै व्यावसायिक बनाउने सोच बनाएका छौँ”, घरबास सञ्चालक मनोज थापाले बताए ।
वैशाख र जेठ महिनामा मात्रै एक दर्जनभन्दा बढी सङ्घसंस्था र कार्यालयबाट भ्रमण टोली भकुण्डे पुगेको जनाइएको छ । भकुण्डेमा पुगेका पर्यटकले त्यहाँ रहेका ताल, प्रसिद्ध मुलाबारीको भ्यू टावरलगायतका पर्यटकीय क्षेत्रको अवलोकन गरेर फर्कने गरेका छन् ।कतिपय पर्यटक भने छिमेकी अमलाचौर गाविसमा पर्ने प्रसिद्ध शक्तिपीठ भैरवस्थानको दर्शनसमेत गरेर फर्कने गरेका छन् । सदरमुकाम बागलुङ बजारदेखि एक घण्टाको मोटर यात्रा र करिब तीन घण्टाको पैदलयात्रामा घरबास गाउँ पुग्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार