सभासदको शपथ माघ ७ मा

२०७० पुष २९ गते, सोमबार

काठमाडौ, – व्यवस्थापिका संसद् सचिवालयले माघ ७ गते साढे ११ बजे संविधानसभाका नवनिर्वाचित सभासदहरूलाई शपथ खुवाउने भएको छ ।संविधानसभाका ज्येष्ठ सदस्य ८६ वर्षीय सूर्यबहादुर थापाले नवनिर्वाचित सदस्यहरूलाई संविधानसभा भवन बानेश्वरमा शपथ खुवाउने छन् ।ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष थापालाई राष्ट्रपति रामवरण यादवले आफ्नै कार्यालय शीतल निवासमा माघ ६ गते साढे ११ बजे शपथ खुवाउने कार्यक्रम तय भएको संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले बताए ।मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले माघ ८ गते बुधबार ३ बजे संविधानसभाको पहिलो बैठक आह्वान गरेपछि सचिवालयले सभासदको शपथग्रहण र पहिलो बैठकका कार्यक्रम तय गरेको हो । सभासदले आफ्नो पहिचान झल्किने वा सांस्कृतिक पहिरनमा शपथ लिन सक्नेछन् । सचिवालयले त्यसैलाई औपचारिक पोसाक मान्ने छ ।
महासचिव भट्टराईले आइतबारदेखि ५ सय ७५ सभासदलाई अध्यक्ष रेग्मीले तोकेको संविधानसभाको पहिलो बैठकको मिति, समय र स्थानमा सहभागी हुन सबै सभासदलाई आह्वान पत्र बाँड्न सुरु गरेका छन् ।बैठक तय भएपछि सचिवालयले संविधानसभा भवन बानेश्वरमा भएको तयारीबारे पनि आइतबार स्थलगत अनुगमन गरेको छ । ‘संविधानसभा कक्षमा भएको तयारीबारे अवलोकन गर्‍यौं,’ महासचिव भट्टराईले कान्तिपुरसित भने, ‘मोटामोटी सबै काम सकियो, अब हामी बैठक बसाउन तयारी अवस्थामा छौं ।’ यो पटक सचिवालयले संविधानसभा कक्षलाई आधुनिक प्रविधियुक्त बनाएको छ ।संविधानसभा बैठक तय भएपछि संसद् सचिवालय पनि आइतबारदेखि थप तयारीमा व्यस्त भएको छ । सभासदलाई बैठकको पत्र बाँड्ने, सूची तयार गर्ने, सभासदको विवरण संकलन गर्ने काममा कर्मचारी व्यस्त भएका हुन् । ‘शपथ ग्रहणलगायत पहिलो बैठकको कार्यसूची तयारीमा व्यस्त छौं,’ सचिवालय प्रवक्ता मुकुन्द शर्माले कान्तिपुरसित भने, ‘आवश्यक सबै तयारी पूरा भइसक्यो ।’शर्माका अनुसार पहिलो बैठकमा ज्येष्ठ सदस्यले अध्यक्ष रेग्मीले बैठक आह्वान गरेको पत्र वाचन गर्ने, अध्यक्ष रेग्मीले सम्बोधन एवं नयाँ संविधानसभालाई बधाई र शुभकामना दिने तथा विभिन्न देशले संविधानसभा निर्वाचन सफल भएकामा दिएका शुभकामना तथा बधाई पढेर सुनाउनेलगायत सूची छन् ।
संविधानसभा कार्यसञ्चालन नियमावली अघिल्लोलाई नै मान्ने वा त्यसमा संशोधन गर्ने विषय पनि सूचीमा हुन सक्नेछ । शर्माका अनुसार नियमावली संशोधन गर्न ३ देखि ४ सदस्य रहेको एक समिति बन्न सक्छ । पहिलो बैठकले सभामुखको चुनावको मितिसमेत तय गर्ने सम्भावना रहेको शर्माले जनाए ।संविधानसभाका निर्वाचित ५ सय ७५ सभासदमध्ये राप्रपाबाट समानुपातिक सभासद बनेका पूर्वप्रधानमन्त्री थापा ज्येष्ठ सदस्य भएका छन् । धनकुटाको मुगा गाविसमा जन्मिएका उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् ।
पुरुषतर्फ सबैभन्दा कान्छा सभासद कपिलवस्तु-५ बाट फोरम नेपालबाट निर्वाचित अभिषेकप्रताप शाह छन् । उनी ३१ वर्षका छन् । अघिल्लो संविधानसभामा पनि उनी कान्छा सभासद थिए ।सबैभन्दा कान्छी फोरम गणतान्त्रिकबाट समानुपातिक सभासद सरिताकुमारी यादव छिन् । गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवकी श्रीमती सरिताको उमेर २५ वर्ष हो ।

प्रतिक्रियाहरु