प्रचण्डलाई एसएमएस मार्फत झटारो

२०७० पुष २५ गते, बिहीबार


काठमाडौं,२५ पुस – एमाओवादीका पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँती ‘आलोक प्रवृत्ति’को मान्छे भएको भन्दै उनलाई कारबाही गर्न हिसिला यमीले प्रचण्ड समक्ष माग गरेकी छन् ।यमीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस गरेर किराँतीलाई कारबाही गर्न माग गरेकी हुन् । यमीले प्रचण्डलाई पठाएको एसएमएस (मोवाइल सन्देश)मा किराँतीलाई कारबाही गरी पार्टी फुटबाट बचाउन आग्रह पनि गरेकी छन् ।किराँतीले पत्रपत्रिकामा गलत कुरा लेखेर आफ्नो बदनाम गराउन खोजको यमीको आरोप छ ।यमीको एसएमएसमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डजी, कृपया गोपाल किराँतीलाई आलोक हुनबाट बचाएर पार्टी फुटको गतिविधि बन्द गर्नुहोला । म (हिसिला)लाई कान्तिपुर पत्रिकामा विनालाई मैले चुनावमा सिट दिन लगाको १०० प्रतिशत झुट हो ।’
तत्कालिन नेकपा माओवादीले अराजक भएको भन्दै २०५७ सालमा यानप्रसाद गौतम ‘आलोक’लाई कारबाही गरेको थियो । कारबाहीकै क्रममा रहेका आलोकको २०५९ सालमा सैन्य कारबाहीमा रोल्पामा मृत्यु भएको थियो । माओवादीभित्र आलोक प्रवृत्तिलाई अराजक प्रवृत्तिको रुपमा लिइन्छ ।किराँतीले बुधबार एक दैनिक पत्रिकामा लेखेको लेखमा नेतृ हिसिला यमीको जोडमा बिना मगरलाई कञ्चनपुरबाट संविधानसभा चुनावमा उम्मेदवार बनाएको उल्लेख गरिएको छ ।
यसै बीच , एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।आज पार्टी मुख्यालय पेरिसडाँडामा पूराना कम्युनिष्ट नेता जयगोविन्द शाहको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए ।‘कम्युनिष्ट भए गम्भीर समिक्षा गरेर रुपान्तरणसहित अघि बढ्नुपर्छ, प्रचण्डले भने, ‘होइन भने भाँडभैलो गरेर हिंड्ने अवसर पनि छ ।’
बैचारिक बहस र छलफल कम्युनिष्ट पार्टीमा चलिरहने भन्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने चुनौति आफूहरु सामु रहेको बताए ।
पार्टी अहिले एक किसिमको मोडमा उभिएको भन्दै उनले विगतका कमजोरीबाट शिक्षा लिँदै अर्काे मोर्चा जित्ने तयारीमा लाग्नु पर्नेमा जोड दिए ।
‘लडाईंमा हारेको सेनाले कमजोरीबाट पाठ सिकेर अर्काे मोर्चा जित्नसक्छ, उनले भने, ‘एक अर्कालाई विरोध र आक्रमण गरेर चोखो हुने प्रवृत्ति ठिक होइन ।’ अब गम्भीर आत्मसमीक्षा गरेर आफ्नो हैसियत अनुसारको जिम्मेवारी लिनुपर्ने प्रचण्डाको भनाई छ ।
कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले पार्टी गम्भीर आत्मसमीक्षाको मोडमा रहको बताए । केही उतारचढाव देखिएपनि नेपाली क्रान्तिलाई अघि बढाउन सम्भव रहेको भन्दै उनले सुझबुझपूर्ण निर्णय गरेर अघि बढ्नु पर्ने बताए ।रुपान्तरणसहित पार्टीलाई एकतावद्ध गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

प्रतिक्रियाहरु