प्रहरी राजनीतिक हस्तक्षेपमुक्त संगठन हो :अर्याल

२०७० पुष २२ गते, सोमबार


काठमाडौं, २२ पुष– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी राजनीतिक हस्तक्षेपमुक्त संगठन भएको बताएका छन् ।उनले अपराधीसँग सम्बन्ध राख्ने र फितलो अनुसन्धान गर्ने प्रहरीमाथि कारबाही गर्ने चेतावनी समेत दिएका छन्। आइजिपी भएको तीन महिनापछि आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले संगठित अपराध, गुण्डागर्दी र तस्करी नियन्त्रणमा कठोर नीति अवलम्बन गरिने बताए।भनसुन र प्रभावका आधारमा मात्रै प्रहरीले काम गर्छ भन्ने आमधारणा परिवर्तन गर्नु आफ्नो प्राथमिकता भएको उनले जनाए। ‘प्रहरी राजनीतिक हस्तक्षेपमुक्त संगठन हो,’ आइजिपी अर्यालले भने, ‘प्रहरी भर्ना, बढुवा र सरुवामा राजनीतिक दबाब र अन्य बाहिरी प्रभाव हटाइनेछ । यस्ता दबाब र प्रभावहरू संगठनकै सदस्यहरूले समेत भित्र्याउँछन्। यसरी सरुवा, बढुवा र वृत्ति विकास चाहने प्रहरीको सूची बनाएर कारबाही गरिनेछ।’
प्रहरीमा सामूहिक निर्णय पद्धतिका लागि अधिकार प्रत्यायोजन गरिने उनले बताए। तर केही महिनादेखि प्रहरीमा एआइजीहरूको पदपूर्ति भएको छैन । बढुवाका लागि आफूले पहल गरिरहेको उनले सुनाए ।
प्रहरी नियमावलीको मस्यौदा आफूले तयार नगरेको स्पष्टीकरण दिएका उनले नियमावलीको बचाउ भने गरे। ‘म आउनुअघि नै बनेको मस्यौदा अहिले मन्त्रिपरिषदमा पुगेको हो,’ उनले भने, ‘प्रहरी नियमावली व्यक्तिका लागि होइन। पद्धति बसाल्न हो। नियमावलीका विषयमा अन्यथा अड्कल गरेर विवाद गर्नु जरुरी छैन।’
यसैक्रममा बाराका ट्रक व्यवसायी अफताब आलम अन्सारीको हत्यामा संलग्नलाई ज्यानको बाजी राखेर पक्रन सफल दुर्इजना प्रहरीलार्इ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक तहमाथिको दर्ज्यायनी चिन्ह लगाइदिएका छन् ।प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेख अबजानलाई एकतह बढुवा गरी दर्ज्यायनी चिन्ह लगाइएका हुन् ।
आफूलाई गोली लागेर रगतपच्छे हुँदा पनि भारतीय अपराधी पक्रन सफल मातृका ठाकुरलाई सईको र जवान शेखलाई हवल्दारको दर्ज्यायनी चिन्ह महानिरीक्षक अर्यालले लगाइदिएका हुन् ।घरैमा बसिरहेका ट्रक व्यवसायी आफताब अन्सारीलाई एक हप्ताअघि गोली हानेर भारततर्फ भाग्दै गरेका लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई उनीहरूको गोली लागेर रगपच्छे भएको अवस्थामा पनि प्रहरी सहायक निरीक्षक ठाकुर र जवान शवजानले पक्रन सफल भएका थिए ।
गोली लागेर घाइते दुवैजनाको प्रहरी अस्पतालमा उपचार गरिएको थियो । भारतीय अपराधीहरूको गोलीबाट घाइते ट्रक व्यवसायी अन्सारीको भने उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु