पाखा लाग्दै प्रचण्ड

२०७० पुष २० गते, शनिबार


काठमाडौँ । संविधानसभामा सबैभन्दा ठूलो दल भइन्छ । सरकार र सत्तामा आफ्नो हालीमुहाली मच्चाउन पाइन्छ भनेर तमाम राष्ट्रवादी र क्रान्तिकारी दलहरूलाई पाखा लगाएर संसद्वादी दलहरूसँग काँध मिलाएर निर्वाचनमा भाग लिएको एमाओवादी अन्ततः संविधानसभाकै विषयमा विवाद भएर बर्बादीको बाटो पछ्याउन उद्यत भएको छ । निर्वाचनमा र्समनाक हार बेहोरेको एमाओवादीले आफ्नो लाज लुकाउन केही समय संविधानसभामा नजाने बतायो । तर, संसद्वादी दलहरू र वैदेशिक शक्तिहरूको दबाब थेग्न नसकेर पुनः संविधानसभामा जान खुट्टा उचाल्यो । यही संविधानसभामा जान गरेको खुट्टा उचालाई अहिले एमाओवादीलाई घाँडो भएको छ । अहिलेको परिवेश हेदा संविधानसभा एमाओवादीलाई निल्नु न ओकल्नु भएको छ । संविधानसभामा जान पार्टी नेताहरू राजी भए पनि कसले आफ्नो वर्चश्व जमाउने भन्ने विषयमा ठूला तीन नेताबीच हानाथाप भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कमजोरीले पार्टी तहसनहस भएको र निर्वाचनमा र्समनाक हार बेहोर्नुपरेको भन्दै उपाध्यक्षद्वय बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ एकजुट भएपछि पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्तासाफ हुने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यही कमजोरीमा टेकेर उनलाई पार्टीबाट पाखा लगाउन उपाध्यक्षद्वय कम्मर कसेर लागेका छन् । अध्यक्ष प्रचण्डलाई पाखा लगाई पार्टी नेतृत्व कब्जा गर्न तम्सिएका उपाध्यक्षद्वयले अहिले प्रचण्डमाथि विगतमा पार्टी ट्नु, संविधानसभामा र्समनाक हार हुनुलगायतका तमाम दोष थोपरिरहेका छन् ।

प्रतिक्रियाहरु