भेटिए पौने ९ करोड विजेता पराजुली

२०७० बैशाख २४ गते, मंगलवार


कतार, – कतार ड्युटी फ्रि सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली भेटिएका छन् । कतारमा साधारण श्रमिक पराजुली आफ्नो घर ठेगाना बताउन चाहँदैनन् । उनी सञ्चारकर्मीसँग त्यति बोल्न पनि मान्दैनन् । उनी सन १९९९ देखि कतारमा छन् । पुरस्कार घोषणा भएको निकै दिनसम्म पनि उनको पत्तो नलाग्दा यहाँका नेपाली निकै नै चिन्तित थिए । चिन्तित नहोउन् पनि किन, सो चिठा पाउने उनी नै पहिलो नेपाली हुन् । पराजुली पुरस्कार दाबी गर्न गइसकेका छन् । उनले रकम प्राप्त गर्न कतार एयरवेजको ड्युटी फ्रि कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात पनि बुझाइसकेका छन् । राहदानीको हस्ताक्षर र हालको हस्ताक्षरमा फरक परेपछि उनी केही तनावमा छन् । कागजात मिलाउन उनी गतसाता दोहास्थित नेपाली दूतावास पुगेका थिए । उनले दूतावासबाटै सन् २००४ मा राहदानी नवीकरण गराएका थिए । त्यसैले पनि उनी प्रमाणीकरण गर्न गएका हुन् । नेपाली मिडियाले आवश्यकभन्दा बढी प्रचार गरेको भन्दै उनी असन्तुष्ट छन् । त्यसैले उनी सञ्चारकर्मीसँग खुलेर बोल्न नमानेका हुन् ।
उनले सञ्चारकर्मीले बढी चासो देखाएको भन्दै आफ्नो फेसबुकसमेत बन्द गर्न बाध्य भएको गुनासो गरे । पराजुलीले आफ्नो घर–ठेगानासमेत सार्वजनिक नगरिदिन अनुरोध गरेका छन् ।
साधारण परिवारमा जन्मेका डिल्लीरामले स्वदेश फर्कने क्रममा विमानस्थलको बोर्डिङ गेटबाट पछाडि फर्केर ड्युटी फ्रितिर हेर्दा १० लाख अमेरिकी डलर लेखेको ठूलो बोर्ड देखेपछि चिट्ठा किनेको बताएका छन् । आफूले पहिलोपटक किनेकै चिट्ठा परेको पनि उनले खुलाए । जितेको पैसा के गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे, ‘हालसम्म प्रक्रियामै छ, रकम प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।’

प्रतिक्रियाहरु