साउदीमा विदेशी कामदारमाथि निगरानी

२०७० बैशाख ४ गते, बुधबार


काठमाण्डौं । साउदी अरेबियामा अवैध विदेशी कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीमाथि कडा कारवाही थालिएको छ ।साउदी अरेबियाको श्रम मन्त्रालयले देशमा श्रम कानून उल्लंघन गर्ने कम्पनीहरुमाथिको निगरानी बढाइने र उल्लंघनकर्ता कम्पनीलाई कडा कारवाही गरिने बताएका छन् ।एक टेलिभिजनसँगको अन्तरवार्तामा बोल्दै मन्त्री दाउद अल शिरियानले कानून उल्लंघन गर्ने कम्पनीका बारेमा विभिन्न ३ तरिकाले सरकारलाई जानकारी गराउन सकिने बताएको अरब न्यूजले जनाएको छ । उनका अनुसार सर्वसाधारणले मन्त्रालयको टोल फ्री नम्बरमा फोन गरेर सिधै त्यस्ता कम्पनी तथा व्यक्तिबारे जानकारी गराउन सक्छन् ।
दोस्रो विकल्प कम्पनीको मालिक आफैले अनलाइनमार्फत आफ्नो व्यवसायको अनुगमन गरी कतै आफ्नै कम्पनीले कानून उल्लंघन त गरिरहेको छैन भन्ने बारेमा अध्ययन गरी जानकारी प्राप्त गर्न सक्छन् । उनका अनुसार मन्त्रालय आफैले पनि विभिन्न कम्पनीहरुको नियमित अनुगमन गरी यस बारेमा जानकारी लिनेछ ।
मन्त्री दाउदले एक लाख जना नयाँ निरीक्षणकर्तालाई यस्तो निरीक्षण कार्यमा खटाइने जानकारी दिए । ती निरीक्षणकर्ताले प्रहरीसँग मिलेर अनुगमन तथा निरीक्षणको काम गर्ने र श्रम कानूनको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रियाहरु