विराटनगर जुट मिल सचालन हुने

२०६९ चैत्र ३ गते, शनिबार

काठमाडौँ । भारतको कोलकातास्थित विनसम इन्टरनेसनल प्रालिले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिललाई चैतदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपालकै सबैभन्दा पुरानो विराटनगर जुट मिल बन्द भएपछि सरकारले पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिएको हो । विनसम कम्पनीले विराटनगर जुट मिल सञ्चालनका लागि चैत १७ गतेदेखि कामदार भर्तीका लागि आवेदन खुला गर्दैछ । पुरानो मेसिन सञ्चालनमा आए करिब नौ सय मजदुर आवश्यक पर्ने कम्पनीले जनाएको छ । पुरानो मेसिन सञ्चालनमा आएपछि क्रमशः नयाँ मेसिनलाई पनि सञ्चालनमा ल्याइने छ । विराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेलले नेपाल सरकारबाट उद्योग हस्तान्तरण भइसकेकोले चाँडै सञ्चालन हुने जानकारी दिए । उनले मेसिनहरुको मर्मत, सम्भार भइरहेको र एक महिनाभित्रमा नै सञ्चालनमा आउने बताए । ‘पुराना र अनुभवी कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखेका छौँ । पोख्रेलले भने- अपुग भए मात्र बाहिरबाट मजदुर झिकाउँछौँ । कोलकाताको विनसम इन्टरनेसनल प्रालिले भारतको विभिन्न स्थानमा जुट मिल सञ्चालन गरेकाले विराटनगर जुट मिलको मेसिन मर्मत सम्भार सकिएलगत्तै कच्चा पदार्थ ल्याएर उत्पादन थालिने अध्यक्ष पोखरेलको भनाइ छ । राजनीतिक हस्तक्षेप, पुँजीको अभाव, कच्चा पदार्थको समस्या, लगानीमा सरकारले निगरानी नगर्ने र भ्रष्टाचारलगायतका समस्याले नेपालकै पुरानो र ठूलो विराटनगर जुट मिल बन्द भएको थियो । मिलले २०२९ सालतिर तलब र भत्ता राम्रो दिनुको साथै कर्मचारीहरुलाई बोनस पनि खुवाउँथ्यो । कोलकाताका राधाकृष्ण चमरियाको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत सेयर रहेको जुट मिल भारतीय नेतृत्वमा २०३८ सालसम्म चन्दा प्रत्येक दुइ महिनामा १० दिनको प्रोडक्सन बोनस कर्मचारीले पाउने गरेका थिए । भारतीयहरुले मिल सञ्चालन गर्दा जुट कृषकलाई दिएको सहुलियत नेपाली व्यवस्थापकले बन्द गरेपछि कारखानालाई कच्चा पदार्थको अभाव भएको थियो । नेपाल सरकारको राजनीतिक हस्तक्षेपका कारण जुट मिल सधैँका लागि बन्द भएको थियो । जुट मिल सञ्चालनको संघारमा पुगेपछि नगरवासीमा उत्साहको रौनक थपिन पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु