पेरिसडाँडामा मसाल जुलुस

२०६९ मंसिर २७ गते, बुधबार

काठमाडौं, – एमाओवादीको मुख्यालय पेरिसडाँडाबाट बहिर्गमित जनसेनाले मसाल जुलुस निकालेका छन्। पेरिसडाँडामै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरिसकेका उनीहरुले आज आन्दोलनका थप कडा कार्यक्रम अघि सारेका हुन्। बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका संयोजक लेनिन विष्टले मसाल जुलुस सुरु भएको जानकारी दिए। उनीहरुले मसाल जुलुस निकाल्न लागेपछि त्यहाँ प्रहरीको तैनाथी बाक्लो पारिएको छ। बहिर्गमित जनसेनाहरुले मंसिर १३ गतेदेखि एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना दिएका थिए। बिहीबार उनीहरुले बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालयमा तालबन्दी गरेका थिए भने मंगलबार अध्यक्ष दाहालविरुद्ध नाराबाजी गरेका थिए। अयोग्यको बिल्ला फिर्ता गर्नुपर्ने, स्वेच्छिक अवकाशमा गएका जनसेनासरह सुविधा दिनुपर्ने, पुनर्स्थापना प्याकेजमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने, कदरपत्र दिनुपर्ने लगायत १२ बुँदे माग राख्दै अनमिनद्वारा अयोग्य प्रमाणित जनसेना आन्दोलनरत छन्।

प्रतिक्रियाहरु